काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न आग्रह गरेका छन्। ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरोकारवाला सबै क्षेत्रबिच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने बताएका हुन्।
उनले नेपाल सरकारले अगाडि बढाएको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने अभियानलाई सघाउन आग्रह गरे।
विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण तथा हिमालका फोहोरमैला व्यवस्थापन लगायतका चुनौती थपिएको बताए।
उनले पछिल्लो समय विश्वव्यापी रूपमा देखा परेका वातावरणीय सङ्कट खास गरी जलवायु परिवर्तन, तापमान वृद्धिले ल्याएको चुनौती गम्भीर भएको उल्लेख गरे ।
“मुख्यतः तापमान वृद्धिसँगै हिमाल पग्लिने, हिमताल विस्फोटको खतरा बढ्दै जाने, वायु प्रदूषण बढ्दै जानेजस्ता कारणले हिमालको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन, सभ्यता, विकास, जीवनशैली, स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ,” प्रधानमन्त्रीले भने, “नेपालले हिमाली क्षेत्रको संरक्षण एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्न उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु न्यायका लागि नेतृत्वदायी पैरवी गर्दै आइरहेको छ ।”