म्याग्दी। म्याग्दी जिल्लाको म्याग्दी नदीमा चार जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गरिएको छ। जिल्लामा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माण शुरु गरिएको हो।
यहाँ दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् भने थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका छन्। डाँडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका हुन्।
गैरआवासीय नेपालीको अगुवाइमा धौलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङको अडिट पोर्टल बनाउन थालेको छ। आयोजनाका इञ्जिनीयर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण शुरु गरेको जानकारी दिए।
गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ। बाँध र विद्युत्गृह निर्माणको तयारी भएको छ। मालिका–७ बिम र धवलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ।
धवलागिरि गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ। हाइड्रो इम्पायरका अध्यक्ष जितबहादुर घर्तीले बिमको शिवरात्री खोलादेखि भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्याक खोलिसकेको जानकारी दिए।
धवलागिरि–४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी सुरु गर्ने तयारी गरेको छ।
आयोजना निर्माणका लागि ठेक्का आह्वान गर्न टेण्डर डिजाइन, निर्माण अवधिभर आयोजनाको सुपरिवेक्षणलगायत कार्यका लागि हाइड्रो कन्सल्ट इन्जिनीयरिङ कम्पनीसँग सम्झौता समेत भइसकेको छ। अप्पर हाइड्रोपावर प्रालि काठमाडौँले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पुर्याउने काम भइरहेको छ।
बेनीमा सम्पर्क कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम गरिरहेको आयोजनाले प्रशारण लाइन पुगेपछि बाँध, सुरुङ र विद्युत्गृह निर्माणलाई तीव्रता दिने जनाएको छ। कल्लेनीहुँदै आयोजनाको बाँध निर्माणस्थल खाम्ला जोड्ने पहुँचमार्ग निर्माण भइरहेको छ।
धवलागिरि–४ मुदीको खाम्ला नजिकै बाँध र मालीका–७ बिमको भारवाङमा विद्युत्गृह रहने आयोजना रन अफ द रिभर प्रकृतिको हो। पाँच किलोमिटर ५०० मिटर दूरीको सुरुङबाट ल्याइएको पानी ७७० मिटर हेडबाट विद्युत्गृहमा खसालिने छ।