महेन्द्रनगर। सरकारले कञ्चनपुरको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणमा बजेट वृद्धि गरेको छ । मंगलबार संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा महाकाली सिँचाइ तेस्रो चरणको बजेट वृद्धि गरेको बताएका छन् ।
अर्थमन्त्री पुनले प्रस्तुत गरेको बजेट वक्तव्यको १०८ नम्बर बुँदामा महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर र पुनर्वास नगरको त्रिभुवन बस्तीलगायतका शाखा नहर विस्तार कार्य अघि बढाउन र थप १५ सय हेक्टर जमिन सिँचाइ विस्तारका लागि दुई अर्ब रुपैयाँ विनियोजन गरेको घोषणा गरेका छन् । पछिल्ला पाँच वर्षयता महाकाली सिँचाइको बजेट उतार चढाव भएको छ । बजेट वक्तव्यबाटै चालु आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब १७ करोड विनियोजन गरिएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०७९/०८०, एक अर्ब ५२ करोड, आर्थिक वर्ष २०८०/०८१, एक अर्ब १७ करोड विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाकै रूपमा विकास गर्न उक्त महाकाली सिँचाई आयोजनादेखि रानी जामरा, कुलरिया, सिप्टा, भेरी बबई ड्राईभर्सन, बबई बागमतीसहितका सिँचाइ आयोजनाका लागि १० अर्ब २५ करोड विनियोजन गरिएको थियो ।
आवश्यक अनुरुप बजेट वृद्धि नभएपछि महाकाली सिँचाइले गति लिन सकेको छैन । ३५ अर्ब, १८ करोड १६ लाख रुपैयाँ लागत अनुमान रहेको महाकाली सिँचाइ तेस्रो चरणको काम सुस्त गतिमा अघि बढेको छ । १७ वर्षमा २९ किलोमिटर मूल नहर निर्माण गरिएको छ । कुल १५२ किलोमिटर मूल नहर निर्माण गर्नुपर्छ ।
त्यसैगरी महाकाली सिँचाइ तेस्रो चरणबाट कञ्चनपुर कैलालीको ३३ हजार ५२० हेक्टर जमिन सिञ्चित गर्ने लक्ष्य छ । १७ वर्षमा २९ किलोमिटर निर्माण भएको नहरको अनुपातमा पुरै १५२ किलोमिटर नहर निर्माण हुन कुल १२० वर्ष लाग्ने अनुमान गरिएको छ । बजेट अभावकै कारण योजना सम्पन्न गर्नका लागि पुरै शताब्दी नै लाग्ने आयोजनाले जनाउँदै आएको छ। कारोबार दैनिकबाट