काठमाडौं। बाँकेको नेपालगञ्जमा एकीकृत जाँच चौकी (सुक्खा बन्दरगाह) निर्माणको काम अहिले धमाधम शुरु भएको छ। भारत र नेपालबीच भएको सम्झौताबमोजिम नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा सुक्खा बन्दरगाह बन्न लागेको हो।
बन्दरगाह निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमिन अधिग्रहण गरेको छ। अधिग्रहण गरिएको कुल जग्गामध्ये ६७ बिघा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना निर्माण गर्ने तथा बाँकी २४ बिघा जग्गा बाटोका लागि छुट्याइएको छ।
उक्त बन्दरगाह निर्माणका लागि नेपाल सरकारले जग्गामात्र उपलब्ध गराउने र बाकी काम भारत सरकारकोतर्फबाट हुने सम्झौता भएको छ। सम्झौताको १० वर्षपछि नेपालको तर्फबाट निर्माणको काम अघि बढाइएको हो। उक्त निर्माण कार्य दुई वर्षभित्र सक्ने योजना बनाइएको छ।
संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगञ्जका होमनाथ भुसालका अनुसार भारत सरकारले आफ्नातर्फ २०७५ पुसदेखि नै निर्माणको काम शुरु गरिसकेको थियो। बन्दरगाह निर्माणका लागि कुल दुई अर्ब ३५ करोड खर्च लाग्ने अनुमान गरिएको छ।
सो बन्दरगाह निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ।
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढदै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयातनिर्यातलाई सहज व्यवस्थापन गर्न सुक्खा बन्दरगाह कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।