काठमाडौं। ललितपुरको नख्खुस्थित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको भवन निर्माणमा सरकारको तर्फबाट सहयोग गर्ने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्रतिबद्धता व्यक्त गरेकी छिन्।
आइतबार सम्पन्न केन्द्रको तेस्रो वार्षिक साधारण सभाको उद्धघाटन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन्। सो अवसरमा मन्त्री भुसालले ध्यान केन्द्रको निर्माणले असल, जिम्मेवार र कर्मठ नागरिक निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरेकी छिन्। यसैगरी सो सभामा भिक्षु कौण्डन्यले ध्यान ज्ञानको अभ्यासबाट सकारात्मक चिन्तन, शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै केन्द्रको भवन निर्माण कार्य पुरा गर्न सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
सभामा प्रदेश नं ३ का प्रदेशसभा सदस्य शोभा शाक्यले दाताले धर्मचित्त राखेर जग्गा दान दिनुभएको उदाहरणले सर्वसाधारण सबैलाई सार्वजनिक हित सरोकारलाई दान दिनुपर्ने सन्देश प्रवाह गरेको धारणा राख्नुभयो ।सो अवसरमा केन्द्रका अध्यक्ष रामकाजी अवालेले मानिसहरुलाई आध्यात्मिक शान्ति, जीवनमा सकारात्मक उर्जा र सोचको विकासमा ध्यानको महत्व रहेको उल्लेख गर्दै ध्यानको अभ्यास, ज्ञानको चर्चा र देशविदेशबाट आउने बौद्ध भिक्षुहरु राख्न ध्यान केन्द्र निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । सो ध्यान केन्द्र निर्माण कार्य १ वर्षभित्र पुरा गर्ने लक्ष्य रहेको बताइएको छ।
उक्त समारोहमा केन्द्रका सल्लाहकार हेमबहादुर शाक्यले ध्यान केन्द्रको अवधारणालाई साकार तुल्याउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गेका छन्। यसैगरी समारोहमा केन्द्रको उपाध्यक्षले भवन निर्माण क्रममा हाल सम्मको प्रगति विवरण बारे जानकारी गराउँदै ध्यान र ज्ञानको अभ्यास को लागि बनाउने भवनको लागि श्रद्धापूर्वक सहयोग गर्न आग्रह गरेका छन्।
स्थानीय पूर्णचण्डी निवासी दाता दशलाल डंगोल र उनकी श्रीमती राममाया डंगोलले आफ्ना छोराहरु राम, रामकृष्ण र रत्न महर्जन लगायत परिवारका सबै सदस्यहरुको सम्मतिमा ध्यान केन्द्र निर्माणका लागि १ रोपनी १ आना जग्गा एक वर्ष अघि दान दिएका थिए। सो भवन निर्माणको लागि विभिन्न दाताहरुको सहयोगसंगै वाग्मती प्रदेश, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको सहयोग गरेको थियो।