काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामाले स्थानीय तहका जनप्रतिनिधिदेखि वडाध्यक्षको चुनाव हारेका नेताले समेत निर्माण व्यवसायीलाई थर्काउने र काममा बाधा उत्पन्न गराउने गरेको बताएका छन्।
सोमबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा आयोजित ‘बजेटमा पूर्वाधार क्षेत्र कति प्राथमिकतामा?’ भन्ने छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष लामाले निर्वाचनमा पराजित वडाध्यक्षले समेत आफ्नो स्वार्थ अनुरुप काम गराउन खोज्ने र नमान्दा थर्काउने गरेको बताएका हुन्।
उनले निर्माण सामाग्री निकासिका लागि स्थानीयको अवरोध, साइड क्लियरेन्सका लागि सरोकारवाला निकायको अवरोध, हरेक काममा स्थानीय जनप्रतिनिधिले अड्काउने हुँदाहुँदा वडाध्यक्षको निर्वाचनमा हारेका जनप्रतिनिधिले समेत बाधा पुर्याउने गरेको बताएका हुन्।
उपाध्यक्ष लामाले भने, ‘निर्माणका लागि ढुंगा, गिट्टी, बालुवा निकाल्न स्थानीयले अवरोध गर्छन। १÷२ भोटले हारेको वडाध्यक्ष पनि हेप्ने भन्दै थर्काउँछन्। हामीले कसरी काम गर्नू?’
उनले आवश्यकता अनुसार पटक पटकमा भएको सार्वजनिक खरिद नियमावली निर्माण व्यवसायीको पहुँले गर्दा परिवर्तन भएको भन्ने आरोपको समेत खण्डन गरे।
एडीबी, विश्व बैंकको लगानी रहेका आयोजनामा एउटै ठेक्का खर्बौंको लाग्ने तर नेपाली निर्माण कम्पनीले काम नपाउने अवस्था रहेको उनको भनाइ छ। एडीबी, र्वल्ड बैंकको लगानीका आयोजनामा नेपाली व्यवसायीले काम गर्न सक्छन् भनेर पत्रकारले आवाज उठाउन पर्ने समेत उनले बताए।