काठमाडौं। क्रसर व्यवसायीले आगामी असार १ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएका छन्। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन गरी सरकारको अव्यवहारिक निर्णयका कारण क्रसर, खानी तथा बालुवा उद्योगीले उद्योग नवीकरण गर्न नपाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो।
महासंघले कानुन बमोजिम दर्ता भइ इजाजत र अनुमती लिएर सञ्चलनमा रहेका क्रसरनजन्य उद्योग जेठ ३२ सम्म नविकरण नभए असार १ बाट आन्दोलन गर्ने जनाएको छ।
नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा उद्योगबाट कानुन बमोजिम लाग्ने कर, दस्तुर, शुल्कलगायतका राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रूपमा सञ्चालन गर्न सरकारबाट लिखित निर्देशन जारी भएकोमा उक्त निर्णय अनुसार सरकारको तोकिएको निकायबाट हालसम्म कुनै पनि निर्देशन कार्यान्वयन नभएर उद्योग नवीकरण नभएको महासंघले जनाएको छ।
महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रा उद्योगी व्यवसायी जिल्ला जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर, शुल्कलगायत राजश्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको भन्दै कर्मचारीले रकम बुझ्न मान्नु हुन्न। यसले गर्दा हामीले उद्योग नै नवीकरण गर्न पाएका छैनौं।’
बजेट वक्तव्यमा समेत क्रसर, खानी तथा बालुवा उद्योग नवीकरणका सम्बन्धमा केही सम्बोधन नभएकाले आफूहरू निराश रहेको व्यवसायीहरूको गुनासो छ।