जुम्ला। जुम्लाको तातोपानी गाउँपालिकामा दुई वर्षमा साढे २ हजार घरमा पानीको पहुँच पुगेको छ। तातोपानी गाउँपालिकाले आफ्नो दुई वर्षे प्रगति विवरण सार्वजनिक गर्दै एक घर एक धारा अभियानअन्तर्गत दुई हजार ५२८ घरधुरीमा पानीको पहुँच पुगेको जानकारी दिएको हो।
प्रगति विवरणनुसार दुई वर्षको अवधिमा भौतिक पूर्वाधार विकासतर्फ विद्यालय भवन निर्माण १० वटा, वडा कार्यालय भवन निर्माण दुईवटा, प्रशासकीय भवन निर्माण–१, सार्वजनिक शौचालय ३, काठेपुल निर्माण ३, कल्भर्ट पुल १ वटा निर्माण भएका छन् ।
त्यस्तै श्रमदान अभियानअन्तर्गत आठवटा योजना निर्माण, स्टिल ब्रिज/झोलुङ्गे पुल निर्माण दुईवटा, मन्दिर निर्माण/मर्मत ४२ वटासहित अन्य कृषि, पर्यटन, सिँचाइ, खानेपानी, पूर्वाधार संरचना २२ वटा लगायत दर्जनौ भौतिक संरचना निर्माण भएका छन् भने सडक निर्माणतर्फ (धुले, ग्राबेल, सोलिङ्ग, पिसिसि, आरसिसि) सडक ७.२३ किलोमिटर, गोरेटो/घोरेटो तथा पिसिसि बाटो निर्माण २४.०९६ किलोमिटर, सिँचाइ कुलो निर्माणपछि ३१ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।