म्याग्दी। पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी–बागलुङको ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक संघीय समपुरक आयोजनामा समावेश गरिएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रममा गण्डकी प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने समपुरक बजेटका आयोजनाको सूचीमा बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समेटिएको हो ।
म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले प्रदेश सरकारमार्फत कार्यान्वयन हुने गरि छनोट भएको यो आयोजनाका लागि एक अर्ब बजेट प्रस्ताव गरिएको जानकारी दिए । ‘आगामी आर्थिक वर्षका लागि १२ करोड संघीय सरकारले विनियोजन गरेको यस योजनाका लागि प्रदेश सरकारबाट पनि १२ करोड नै बजेट विनियोजन गर्नुपर्छ,’ उनले भने, ‘तीन वर्षका लागि ९२ करोड बजेट स्वीकृत भएको छ ।’
धवलागिरी गाउँपालिकाको शिवाङदेखि गाउँपालिकाको केन्द्र मुनातर्फ जोड्ने सडक कालोपत्रेसहित स्तरोन्नति गर्न यो बजेट परिचालन हुने प्रदेशसभा सदस्य जुग्जालीले बताए । दरवाङदेखि मुुना हुँदै मरेनी जोड्ने २६ किलोमिटर सडक कालोपत्र गर्न एक अर्ब बजेट अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ ।
बेनीदेखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । धवलागिरि गाउँपालिका–२ खोरीयामा तीन वर्षअघि पुगेको सडकलाई जलजलासँग जोड्न १९ किलोमिटर सडकको मार्ग खोल्न यस वर्ष सडक डिभिजन कार्यालय बाग्लुङले तीन करोडको आयोजना कार्यान्वयन भइरहेको छ ।
पूर्वाधार कार्यालयमार्फत २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक कालोपत्रे गर्न योजना अन्तिम चरणमा र ६ किलोमिटर दूरीको दरवाङ–धारापानी सडक ग्राभेल गर्न सञ्चालित आयोजना सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारले धारापानीदेखि ताकम हुँदै शिवाङ जोड्ने सडक कालोपत्रे गर्न चालु आर्थिक वर्षमा २५ करोडको आयोजना ठेक्का आह्वान भएको छ । म्याग्दीको रणनीतिक र मध्यपहाडी लोकमार्गको वैकल्पिक भएकाले बेनी–दरवाङ–मुना–जलजला ढोरपाटन सडकलाई जिल्लाका सबै सरोकारवालाले प्राथमिकतामा राखेका छन्।
पूर्वी रुकुमको टकसेरादेखि ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । म्याग्दीका सरोकारवालाले खोरिया पुगेको सडकलाई ढोरपाटन हुँदै पूर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा यो सडकलाई प्रयोगमा ल्याउन प्राथमिकता दिएका छन् । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ । भौगोलिक रूपमा म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन्। कारोबार दैनिकबाट