हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकाले आन्तरिक स्रोतको करिब १९ करोड रुपैयाँको लागतमा तीन वटा पक्की पुलको निर्माण गरेको छ । उक्त पुलहरूको शनिबार एकसाथ उद्घाटन गरिएको छ । लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये भर्खरै निर्माण कार्य सकिएका ३ वटा पुलको वाग्मती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरे ।
मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल निर्माण कार्य सकिएको थियो। ३ स्पानको च्यापल खोला पुल ९७ दशमलव ९ मिटर लम्बाईको रहेको छ । उक्त पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी काम गरिएको हो ।
यसैगरी २ स्पानको ट्वाङ्ग्रा खोला पनि ६४ दशमलव १५ मिटर लामो रहेको छ । उक्त पुल निर्माण गर्न ६ करोड ४९ लाख ६० हजार रुपैया खर्च गरिएको छ । त्यस्तै २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयामा निर्माण सम्पन्न गरिएको हो ।
३ वटा पुल निर्माण सम्पन्न गर्न गाउँपालिकाले १९ करोड ३८ लाख रुपैया खर्च गरेको गापा अध्यक्ष रन्जन कालाखेतीले वताए । तीन वटै पुल निर्माणको काम बानियाँरहिराचन जेभीले गरेको थियो । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी पुल निर्माण सकेको हो । यी तीन वटा पुलवाट मनहरी गापाका करिब २० हजार जनसंख्याले लाभान्वित हुने पालिकाले जनाएको छ ।
गाउँपालिकाकै बजेटमा सोही सडक खण्डमा अन्य २ वटा पुल भने निर्माणाधीन अवस्थामा रहेका छन् । २०७७ सालमा एकैदिन ठेक्का सम्झौता गरिएको ५ वटा पुल मध्ये ३ वटा पुल निर्माण सकिएको भएता पनि २ वटा पुल निर्माणको काम भने जारी नै छ । हिराचन बानिया जेभीसँग ८ करोड ६७ लाख ५ हजार रुपैयाँ सम्झौता गरी निर्माणाधीन ठाडोखोला पुलको काम करिब ८५ प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ ।
त्यस्तै भैरव नारायणम् जेभीसँग ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको पुलको काम करिब ६५ प्रतिशत सकिएको गाउापालिकाका अध्यक्ष कालाखेतीले जानकारी दिए । पाँच वटै पुल निर्माण सम्पन्न हुँदा गाउँपालिकाबाट करिब साढे ३३ करोड रुपैयाँ खर्च हुनेछ ।
हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले एकैसाथ ५ वटा पुल निर्माण सुरु गरेको थियो । उक्त सडकअन्तर्गत सबै पुल निर्माण हुने र सडक पनि स्तरोन्नती हुँदा त्यस क्षेत्रका कृषि उपजको बजारीकरणमा सहजता हुने र स्थानीयबासीको पनि दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ । कान्तिपुरबाट