पर्वत। पर्वतको जलजला गाउँपालिकाका तीनवटा वडा समेटिएको मल्लाज क्षेत्रलाई एकीकृत बस्तीको रूपमा विकास गर्ने योजना अनुरुप सडक कालोपत्रे गर्न सुरु भएको छ । तीनवटा वडामा सडकको सहज पहुँच विस्तार गरी एकीकृत बस्ती विकास गर्ने उद्देश्यले पहिलो चरणमा सडक कालोपत्रे गर्न लागिएको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयनका लागि ठेक्कामार्फत् जलजलाको वडा नं। २, ३ र ४ का बस्तीलाई समेटेर चार किलोमिटर आठ समय मिटर (४.८) किलोमिटर दूरीको सडक स्तरोन्नतिसहित कालोपत्रे योजना दुई वर्षअघिदेखि सञ्चालन गरेको थियो । कार्यालयले विसं। २०७९ असार १९ गते दुई वर्षभित्रमा योजना सम्पन्न गर्न निर्माण कम्पनी गणेशकुण्ड आईएम निर्माण सेवा जेभीसँग ११ करोड १२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
पर्याप्त बजेट नभएका कारण निर्धारित मितिन्दा तीन महिना पर धकेलिएको हो । ठेक्का सम्झौतालगत्तै कार्यस्थलमा परिचालन भएको निर्माण व्यवसायीले वडा नम्बर २ को खाल्टीदेखि ४ नम्बर वडाको देवीस्थानसम्मको सडक चक्ल्याउने, नाली, कल्भर्ट निर्माणलगायत सडक पूर्वाधारका काम सम्पन्न गरी कालोपत्रे गर्न सुरु गरेको सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका इन्जिनियर शंकरराज कोइरालाले जानकारी दिए ।
हालसम्म यो योजनाको भौतिक ८० प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशतको हाराहारीमा रहेको उनले बताए । निर्माण व्यवसायीले धमाधम काम गरे पनि भुक्तानीका लागि बजेट अभाव हुँदा समस्या रहेको इन्जिनियर कोइरालको भनाइ छ । कार्यालयका तर्फबाट निर्माण व्यवसायीलाई करिब दुई करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ । कोइरालाका अनुसार काम गरेअनुसारको भुक्तानी गर्न सकेको भए ठेक्का सम्झौता अवधिभित्र नै योजना सम्पन्न हुने थियो ।
ठेक्का सम्झौता लगत्तै निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भएर सडक निर्माणलाई तीव्रता दिएको थियो । बजेट अभावका कारण केही समय योजना प्रभावित बनेको उनले बताए । आगामी असोज मसान्तसम्म म्याद थपेर योजना सम्पन्न गर्ने सोच बनाएको कार्यालयले जनाएको छ । घना बस्ती रहेको मल्लाजको माझफाँटका तीनवटा वडालाई कालोपत्रे सडकले जोडिएसँगै यहाँको विकास र समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको वडा नम्बर ४ का वडाध्यक्ष भरतबहादुर क्षेत्रीले बताए ।
माझफाँटको ठूलो बस्तीलाई समेटेर सडक कालोपत्रे भएपछि स्थानीयवासीको जनजीवनमा सकारात्मक परिवर्तन आउने उनले विश्वास व्यक्त गरे । सडक निर्माणसँगै २, ३ र ४ नम्बर वडाका स्थानीय लाभान्वित हुनेछन् । सडक कालोपत्रे भएसँगै माझफाँटमा एकीकृत बस्ती विकासका लागि आवश्यक पर्ने अन्य पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायमा योजना माग गरिने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । एकीकृत बस्ती विकासका लागि आवश्यक पर्ने सडक पूर्वाधार सम्पन्न भएपछि अन्य आवश्यक पूर्वाधार क्रमशः निर्माण हुँदै जाने आचार्यले बताए । कारोबार दैनिकबाट