काठमाण्डौं। आफ्नै ठाउँमा विद्युत् वितरणलाई व्यवस्थित र अत्याधुनिक बनाउन विद्युत् सबस्टेशन निर्माणको काम अघि बढेपछि महोत्तरीको बर्दिवास भेगका स्थानिय उत्साहित भएका छन्। यस भेगका सर्वसाधारणमा अब विद्युत् कटिरहने समस्या नआउने विश्वासमा खुशी पलाएको हो।
उक्त सबस्टेशनको बर्दिवास–२ को हङकङ डाँडामा आइतबार शिलान्यास भएसँगै निर्माणको काम अघि बढेको छ। स्थानीयका अनुसार आफ्नै बस्तीमा यति ठुलो परियोजना आउदाको खुसि एकातिर छ भने, सबस्टेशनको निर्माण पछि विद्युत् कट्ने समस्या हट्ने विश्वास गरेका छौं।
नेपाल विद्युत् प्राधिकरणले प्रदेशका सबै जिल्लाका विद्युत् उपभोक्तालाई गुणस्तरीय सेवा दिने उद्देश्यले सबस्टेशन निर्माण गर्न सुरु गरिएको बताएको छ। जनकपुरस्थित प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरका अनुसार विद्युत् सेवामा सबैको पहुँचलाई प्रभावकारी बनाउन र अत्याधुनिक वितरण प्रणाली व्यवस्थित गर्न सबस्टेशन निर्माण गर्न लागिएको हो।
यो आयोजनाअन्तर्गत प्रदेश नं २ का आठवटै जिल्लामा विद्युत् वितरण प्रणालीको सुदृढीकरण, पुनःस्थापना र पूर्ण विद्युतीकरण गरिने लक्ष्य रहेको प्राधिकरणले स्पष्ट पारेको छ।
आठ जिल्लाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहित ३३/११ केभी क्षमताका १० सबस्टेशन निर्माण गरिने आयोजना संयोजक बोधराज ढकालले बताए। यससँगै ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर ४०० भोल्टको नयाँ लाइन निर्माण र विभिन्न क्षमताका ५०० थान नयाँ वितरण ट्रान्सफर्मर जडान गरिने प्राधिकरणले बताएको छ।
अहिलेसम्म प्रदेश २ का महोत्तरी सहित धनुषा, सर्लाही, सिरहा, रौतहट, सप्तरी, बारा र पर्सासहितका आठवटै जिल्लाका कतिपय स्थानमा धेरै पुराना र जीर्ण संरचना मार्फत विद्युत् वितरण भएका ठाउँमा अब नयाँ संरचना विकास गरेर सबै जिल्लालाई पूर्ण विद्युतीकरण गरिने जनकपुरस्थित प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख ठाकुरले जानकारी दिए।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत कार्यान्वयन भइरहेको आयोजनाका पाँच चरण छन्। यी पाँचै चरणका निर्माण कार्यलाई सँगसँगै अगाडि बढाइएको प्राधिकरणले जनाएको छ। गत चैतमा निर्माण ठेक्का बन्दोबस्त भएको करिब चार अर्ब लागतको यो निर्माणकार्य दुई वर्ष छ महिनाभित्र सम्पन्न हुने उल्लेख छ।