धादिङ। आदमघाटबाट किरान्चोक हुँदै चौतारा (मकवानपुर) जोड्ने सडकको कालोपत्रे ६ महिनाअघि नै सम्पन्न हुने भएको छ। गजुरी गाउँपालिका–६ मिलनटार चोकदेखि वडा नं. ७ पर्खालेसम्मको चार दशमलव २ किलोमिटर सडक कालोपत्रे गर्ने काम जेठ ३२ गते शुक्रबारबाट सुरु गरिएको थियो ।
आदमघाटदेखि चौतारासम्म करिव ३५ किलोमिटर सडक रहेकोमा मिलनटारदेखि कालोपत्रे गर्न बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन हो । जतिबेला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कटेल थिए । उनीहरु दुवै धादिङ गजुरीकै हुन । तत्कालीन योजनामन्त्री शालिकराम जम्कटेल हाल मुख्यमन्त्री छन् । उनी यो सडकको उपभोक्ता अर्थात किरान्चोकका स्थानीय पनि हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले २०८१ साल पुष १८ गते कार्य सम्पन्न गर्ने गरी २०८० असार १३ गते नाना कन्स्ट्रक्सन प्रालि धादिङसंँग सम्झौता गरेका थिए । नाना कन्स्ट्रक्सन प्रालिले २० करोड ४९ लाख ८१ हजार १० रुपैयाँमा जमिनको काम, साइड ड्रेन, टेवा पर्खालसहित चार दशमलव दुई किलोमिटर कालोपत्रे गर्न सम्झौता गरेका थिए ।
सम्झौता मितिभन्दा ६ महिनाअघि काम सम्पन्न गर्ने काम निकै विरलै हुन्छ । कामको परिमाणअनुसार समय सीमा तोकिन्छ । नाना कन्स्ट्रक्सनले तोकिएको समयभन्दा ६ महिनाअघि काम सम्पन्न गरी जनतालाई सडक उपभोग गर्न दिएर जनता र कार्यालयको मन जितेको प्रादेशिक सडक डिभिजन कार्यालय धादिङका साइट इन्जिनियर धर्मराज खड्काले बताए । दुई सय डिग्री सेन्टिग्रेटमा कालोपत्रे पकाएको र १६० डिग्री सेन्टिग्रेटमा लोडर लगाएर पेलेको इन्जिनियर खड्काले बताए ।
सडक निर्माणको काम गर्न स्थानीयबाट अवरोध नआएमा, मालमेट्रियल सहज अवस्थमा उपलब्ध भएमा र काम गर्ने मजदुरलाई दुःख बिमार नपरेमा तोकेको समयभन्दा एक दिन भए पनि अघि काम बुझाउने गरी काम गर्ने दाबी नाना कन्स्ट्रक्सन प्रालि धादिङका अध्यक्ष नारायणकुमार श्रेष्ठले गरेका थिए । कालोपत्रे गर्न सुरु गरेपछि संक्षिप्त कुराकानी गर्दै काम गर्ने हो बोल्ने होइन भनेका थिए आगामी पुस १८ गते तोकिएको म्याद सकिन्छ तर मैले काम असार १० गतेसम्ममा सक्ने श्रेष्ठले दाबी गरे ।
यसअघि करिब सात वर्ष लगाएर जय बाबा कन्स्ट्रक्सनका श्यामकुमार श्रेष्ठले नौ करोड २८ लाखमा आदमघाटदेखि मिलनटार बराइघरसम्म दुई दशमलव ६ किलो मिटर सडक कालोपत्रे गरेका थिए । यो काम देखेर तोकेको मितिमा सम्पन्न गर्नेमा आशंका रहेका गरका स्थानीय कालोपत्रे तोकिएका ६ अघि नै सक्न लागेपछि स्थानीय खुसी भएर कालोपत्रे हेर्न उपस्थित भएका थिए ।
गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष सर्मिला विसुराल ६ नं. वडाध्यक्ष भक्तबहादुर तामाङ, ७ नं. वडा अब्यक्ष बद्रीप्रसाद जम्कटेल र ८ नं. वडाध्यक्ष देवराज ओझाले कालोपत्रे गर्ने कामको अनुगमन गरेका छन् । साविकको किराञ्चोक गाविसलाई मुख्य राजमार्गसँग जोड्न २०४९ सालबाट पृथ्वीराजमार्गकोे आदमघाटदेखि दक्षिणपट्टि महाभारत लेकसँंग जोड्ने निर्माण सुरु गरिएको थियो ।
गजुरी गाँउपालिका–६ आदमघाटदेखि मिलनटार चौतारासम्म २ दशमलव ६ किलोमिटर यसअघि नै कालोपत्रे गरिएको छ । बराइको घरदेखि चोकसम्म करिब डेढ सय मिटर कालोपत्रे गर्न बाँकी छ । पछिल्लो समय आदमबाट कैलाश–मनहरि सडकको प्रदेश राजधानी जोड्न प्रदेश गौरवको आयोजनाको रूपमा काम भइरहेको छ । अहिले आदमघाटदेखि तीन किलोमिटर दुई दशमलव आठ किलोमिटरलाई पुष्पलाल मार्गमा पर्ने भएकाले मिलनटारलाई शून्य विन्दु मानेर कालोपत्रे गरिएको छ ।
यसैगरी मकवानपुर जिल्लाको कैलाश गाउँपालिका र थाहा नगरपालिकाका मानिसले समेत यस सडकबाट सुविधा पाउनेछन् । आदमघाट–चौतारा सडक सडकको लम्बाइ करिब ३५ किलोमिटर रहेको छ । यस सडक स्तरोन्नति तथा कालोपत्रे पूरा भएमा महाभारत लेकमा बसोवास गर्ने किसानलाई धेरै ठूलो राहत मिल्ने छ । महाभारत लेकका किसानको आर्थिक समृद्धिको मुहान फुट्ने छ । विगतमा नाबोबाट नै आलु भित्र्याउने गरेका किसानले पछिल्लो समय उन्नत जातका आलुका बीउ लगाउन थालेका छन् ।
यस वर्ष चार सय टन आलु फलेको छ । सडक बर्खायाममा समेत सुचारु हुने पक्कापक्की भए तीन हजार टन आलु उत्पादन गर्ने क्षमता किसानसँग छ । यस महाभारत लेकको काखमा तामाङको मात्र बसोवास भएकाले यहाँका मानिस बाँस निगालो, अम्रिसो खेती हाम्रो परम्परागत खेती हो । बाँस निगालोबाट डोका बुनेर, अम्रिसोबाट कुच्चो बनाए हामी आम्दानी गर्दै आएका छौं । किसानले बाख्रा नपाल्ने कुरौ भएन खसीबोका बिक्री गर्न सहज हुने भएपछि संख्या बढाउन सकिने रुम्वाले बताए । कारोबार दैनिकबाट