पर्वत। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर आयोजनाअन्तर्गत पर्वतमा पर्ने मालढुंगा–बेनी सडक कालोपत्रे गर्न सुरु गरिएको छ । निर्माण सामग्री अभावलगायत विभिन्न कारण देखाएर ठेकेदार कम्पनीले अलपत्र पार्दै आएको सडक चार वर्षपछि कालोपत्र गर्न सुरु भएको हो ।
१३ किलोमिटर लामो मालढुंगा–बेनी सडकअन्तर्गत अहिले मालढुंगादेखि फर्सेसम्म कालोपत्रे गरिने भएको छ । मालढुंगादेखि फर्सेसम्मको पाँच किलोमिटर सडक कालोपत्रे गर्नका लागि अहिले बेस बिच्छ्याउने, लोडरले अठ्याउने काम भइरहेको कालिगण्डकी करिडोर मालढुंगा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ ।
जलजला गाउँपालिका–८ फर्सेबाट मालढुंगातर्फ पिच गर्दै जाने तयारी भएको आयोजनाका साइट इन्जिनियर अच्युतविलास पन्तले जानकारी दिए । पहिलो चरणमा यो खण्ड कालोपत्रे गरिसकेपछि झण्डै सात किलोमिटर बाँकी रहने छ । भौगोलिक रुपमा कमजोर रहेको दुई किलोमिटर सडक भने पहिले नै ढलान गरिसकिएको इन्जिनियर पन्तले जानकारी दिए ।
कालोपत्रे गर्नका लागि मालढुंगा–बेनी सडक १३ दिन बन्द गरिने भएको छ । असार ८ गते शनिबारदेखि असार २० गतेसम्म सडकमा सवारीसाधन सञ्चालन गर्न रोक लगाएर धमाधम कालोपत्रे गर्न लागिएको निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीका प्रतिनिधि नरबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रे गर्ने काम सकिन्छ । कालोपत्रे गर्ने अवधिमा अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न दिने सहमति भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय पर्वतमा भएको बैठकमा सडक कालोपत्रे गर्ने अवधिमा एम्बुलेन्स, स्कुलबस, दूध तथा तरकारीका गाडीलाई भने निर्वाध चल्न दिइने निर्णय भएको हो ।
उक्त अवधिमा बागलुङतर्फको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत् १३ किलोमिटर दूरीको मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि वि।सं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्ण जेभीको पेटी ठेकेदार कम्पनी ओमकारेश्वर कन्स्ट्रक्सने सडक निर्माणको जिम्मा लिएको थियो।
ओमकारेश्वर कन्स्ट्रक्सनले काम गर्न नसकेपछि गत फागुनमा मुख्य ठेकेदार एपेक्स–खड्का–कृष्ण जेभी नै निर्माणस्थलमा फर्किएर धमाधम काम गरेको थियो । करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्रे गरिने आयोजनाले जनाएको छ । सम्झौतामा ३० महिनाभित्र सडक सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि चार वर्षपछि बल्ल कालोपत्रे हुन थालेको हो ।
सडक निर्माण कम्पनीलाई कार्यालयले चौथो पटक थपिएको म्याद असोज मसान्तसम्म रहेको छ । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अहिले मालढुंगा–बेनी सडकमा यात्रा गर्न सकस हुँदै आएको थियो । हिउँदमा धुलो र वर्षामा हिलाम्मे सडकमा यात्रा गर्न नागरिक बाध्य भएका थिए । सडक कालोपत्रे हुन थालेसँगै आगामी वर्षायाममा यो सडक हुँदै आवतजावत गर्ने पर्वतको जलजला, म्याग्दी र मुस्ताङका नागरिक लाभान्वित हुने भएका छन्। कारोबार दैनिकबाट