जुम्ला। नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने र मुगु जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने नाग्म–गमगडी सडक कालोपत्रे भएको छ । सडक सञ्चालनको करिब डेढ दशकपछि कालोपत्रे भएको हो । कुल ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगडी सडकको ६ किमि कालोपत्रे भएको हो ।
नेपाली सेनाले ट्रयाक खोलेर २०६५/०६६ सालदेखि सञ्चालनमा आएको नाग्म–गमगडी सडक डेढ दशकपछि ६ किलोमिटर सडक कालोपत्रे भएको छ । नाग्म–गमगडी सडकअन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा पर्ने कनकासुन्दरी–७ रोकायाबाडा गाउँदेखि वडा नं. २ बोतागाउँसम्म ६ किमि सडक कालोपत्रे भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।
सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर घर्तीमगरले महावु हुँदै नाग्म–गमगडी सडक निर्माणको ठेक्काअन्तर्गत ३५ करोड लगानीभित्र ६ किमि सडक कालोपत्रे भइरहेको बताए । रोकायाबाडा, गुरुचौर, गोठिज्युला हुँदै हाँटसिंजासम्म कालोपत्रे भइसकेको छ । कालोपत्रेदेखि नाग्म–गमगडी सडकको अन्य निर्माणको ठेक्का (थोदुङ बासना जेभी) निर्माण कम्पनीले लिएको छ ।
जुम्लाबाट निर्वाचित सांसदहरूले नाग्म–गमगडी सडकलाई कालोपत्रे गर्ने भन्दै बाचा गरे पनि पर्याप्त बजेट भने हालसम्म आउन सकेको छैन । सडक डिभिजनले महावु–नाग्म–गमगडी सडक स्तरोन्नति अन्तर्गतको बजेटबाट यो वर्ष ६ किमि सडक कालोपत्रे गरिरहेको छ । ३२ किमि रोकायाबाडादेखि ३८ किमि बोतासम्म बीचको ६ किमि कालोपत्रे गर्ने योजना छ । सरकारले आगामी आवमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर रारा ताल जाने पर्यटकले सडक सुधार र बास व्यवस्थापनमा लगानी हुनुपर्ने सुझाव दिँदै आएका छन् ।
तर कर्णाली राजमार्ग र नाग्म–गमगडी हरेक वर्ष बजेटको उपेक्षामा पर्दै आएको छ । हालसम्म नाग्म–गमगडी सडकलाई कालोपत्रेका लागि संघीय सरकारले ठोस बजेट विनियोजन गर्न सकेको छैन । सडक डिभिजनले पटकपटक माग गरे पनि सुनुवाइ भएको छैन । तर सडक डिभिजनले अर्कै ठेक्कामार्फत् पहिलो चरणमा ६ किमि सडक कालोपत्रे रंगरोगन गरेपछि रारा आउने पर्यटकसँगै स्थानीय पनि उत्साहित भएका छन् ।
स्तरवृद्धि नहुँदा वर्षौंदेखि धुलो र हिलोको सास्ती खेप्दै आएकोमा हाल थोरै भए पनि कालोपत्रे हुँदा विकासको अनुभूति भएको कनकासुन्दरीका स्थानीय दिपेन्द्र उपाध्यायले बताए । कालोपत्रे भएको सडक खण्डमा पर्यटक रोकिएर फोटोसमेत खिचाउँछन् भने कर्णाली राजमार्गको जोखिम मोलेर रारा नजिक पुग्ने बेला कालोत्रपे दुई लेनको सडक देख्दा सबै पर्यटक मख्ख छन् । नाग्म–गमगडी सडकको प्रस्थान विन्दुबाटै कालोपत्रे हुनुपर्ने सुझाव छ । बजेट अभावले सडक कालोपत्रेमा समस्या छ ।
वर्षौदेखि हिलाम्य र धुलाम्य सडकमा यात्रा गर्न बाध्य पर्यटक तथा स्थानीयलाई ६ किमि सडक कालोपत्रे हुँदा विगतको भन्दा केही राहत पुग्ने सडक डिभिजन जुम्लाका निमित्त प्रमुख चेतनकुमार मण्डलले बताए । उनका अनुसार कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकलाई सुधार गर्नसके अपेक्षानुसार पर्यटक आउने छन् । भौगोलिक अवस्था र विकासमा सरकारी उपेक्षाले गर्दा कर्णालीमा एक पटक आएको पर्यटक फेरि आउने अवस्था छैन । कारोबार दैनिकबाट