काठमाडौं। नेपाल भारत दक्षिणी सिसास्थित झापा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय कुमरखोद र टाघनडुब्बा प्रहरी चौकीको भवनहरु जीर्ण भएका छन्। प्रहरीले जीर्ण भवनबाटै जोखिम मोलेर नागरीकलाई सुरक्षा दिन बाध्य रहेका छन्।
जीर्ण भएका यी दुबै प्रहरी भवनबाट गत कार्तिक पहिलो साता आएको अविरल वर्षाको समयमा रातभर पानी चुहिएर सुत्न नसकेको इलाका प्रहरी कार्यालय कुमरखोदले जानकारी दिएको छ। पानी नपरेको बेला पनि भवनको छतको सिमेन्टका टुक्राहरु झरेर बस्नै नसकिने भएको जनाइएको छ।
यस सीमा सुरक्षाका लागि दुईवटा प्रहरी चौकी र एउटा इलाका प्रहरी कार्यालय रहेको छ। प्रहरी चौकी पन्थपाडाको भवन तुलनात्मक रुपमा राम्रै भए पनि बाँकी दुईवटा भवनको अवस्था भने ज्यादै जीर्ण भएको प्रहरीको भनाइ रहेको छ। जनताको सुरक्षा गर्ने प्रहरी नै जोखिमको भवनमा बसेर नागरिकको सुरक्षामा खटिनुपरेको कुमरखोद प्रहरीहरुको गुनासो रहेको छ।
वि.सं २०३२ सालमा स्थापना गरिएको झापा गाउँपालिका–४ खयरबारीमा रहेको प्रहरी चौकीको अवस्था ज्यादै जीर्ण रहेको छ। सिमेन्टका ढिकाहरु खसेर फलामका डण्डीहरु देखिन थालेको र कतिबेला सिमेन्टको ढिका खसेर ज्यान नै जाने हो भन्ने डरमा त्यहाँका प्रहरीले सेवा दिदैँ आएका छन्। नेपाल भारत सीमा जस्तो जटिल क्षेत्रमा बस्ने प्रहरीको भवन नै जोखिममा रहेको झापा गाउँपालिका ४ का वडाध्यक्षले बताएका छन्। उक्त प्रहरीको भवन २० वर्ष पहिले मर्मत गरेको भए पनि अब भने भवन कामै नलाग्ने अवस्थामा पुगेको जनाइएको छ। स्थानीय सरकारले गर्न सक्ने सहयोग रङ्गरोगन, टेबलकुर्सीको सहयोग गरिरहेका र भवन निर्माणको लागि प्रदेश तथा सङ्घीय सरकारकै बजेट चाहिने वडाध्यक्षले जनाएका छन्।
यसैगरी झापा–२ कुमरखोदमा रहेको इलाका प्रहरी कार्यालय भवनको अवस्था पनि जीर्ण छ। देशमा राणा शासनकै बेला वि. सं. २००१ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालयको भवनमा हाल सिमेन्ट खस्ने, पानी चुहिने अवस्थामा पुगेको छ। थुनुवा राख्ने हिरासत पनि जीर्ण बनेकाले कोही मानिसलाई एक रात राख्न पनि धेरै जोखिम लिनुपर्ने बाध्यता रहेको प्रहरीको भनाइ छ। कतिबेला सिमेन्टको ढिस्काले टाउकोमा लागेर मार्ने हो भन्ने त्रासमा थुनुवा र प्रहरी बस्नुपर्ने बाध्यता रहेको प्रहरी प्रमुखले जानकारी दिएका छन्।
राणाशासन, प्रजातन्त्र हुँदै लोकतन्त्र गणतन्त्र आइसक्दा पनि भवनको अवस्था नफेरिएको झापा गाउँपालिका २ नम्बरका वडा अध्यक्षले जानकारी दिएका छन्। देश र जनताको सेवामा रहेका प्रहरी नै जोखिममा रहदा पनि त्यसप्रति कसैको चासो गएको छैन्। इलाका प्रहरी कार्यालय कुमरखोदको नयाँ भवन निर्माण निर्माणाधीन अवस्थामा अलपत्र रहेको छ। वि.सं २०७६ साल जेठ १६ गते निर्माणको जिम्मा लिएको टक्सार निर्माण सेवा प्रालि डल्लु काठमाडौंले वि.सं २०७७ जेठ १५ गते निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएकोमा हालसम्म भवन निर्माणले गति लिन सकेको छैन। ठेकेरदार कम्पनीले स्थानीय मजदुरको पैसा नदिँदा निर्माण कार्य रोकिएको मजदुरहरुले जानकारी दिएका छन्।