काठमाडौं। भूकम्पले भत्किएको जैसीदेवल पुनःनिर्माण सुरु भएको साँढे पाँच वर्षमा तीनपटक म्याद थपिएको भएपनि काम सम्पन्न हुनसकेको छैन। भूकम्पछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्र्रिय पुनःनिर्माण प्राधिकरणको अवधि सकिन केही दिन बाँकी रहँदा पनि जैसीदेवलजस्ता सयौँ सम्पदा अलपत्र अवस्थामा छन्।
प्राधिकरणको म्याद आगामी पुस ९ गते सकिँदै छ। प्राधिकरणले भने पुनःनिर्माणका अधिकांश काम सकिएको दाबी गर्दै पुनस्निर्माणका अनुभव आदानप्रदान गर्न अन्तर्राष्ट्रिय सम्मेलनसमेत सम्पन्न गरिसकेको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको उक्त जैसीदेवल विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनःनिर्माण पुरातत्व विभागले विसं २०७३ साउनमै शुरु गरेको हो।
सार्वजनिक जानकारीका लागि पुनःनिर्माण गर्दा निर्माण स्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यसायी आदिको नाम समावेश हुने जानकारीमूलक सूचना पाटी नराखी अपारदर्शी काम भएको काठमाडौं महानगरपालिका वडा नं.२१ का पूर्व वडा अध्यक्ष जुजुकाजी तण्डुकारले बताए।
देवल पुनःनिर्माण गरिरहेको निर्माण व्यवसायीले माजुदेग स् र दशअवतार मन्दिरसमेत पुनःनिर्माण गरिरहेकाले काममा अवरोध भइरहेको छ। माजुदेग-काठमाडौं महानगरपालिकाको ठेक्कामा व्यवसायीले ठेक्का पाएको हो। दशअवतार मन्दिर भने विभागकै ठेक्कामा यही निर्माण व्यवसायीले जिम्मा पाएको हो।
यस क्षेत्रकै तीन वटा सम्पदा पुनःनिर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले कुनै पनि काम समयमा गरको छैन। २१ नं. वडा सदस्य न्हुच्छेदेवी महर्जन फलाम ठड्याएर राखेपनि काम भएको नदेखिने बताउछन्। ठेक्का गर्ने सरकारी निकाय र निर्माण व्यवसायीलेसमेत वडासँग समन्वय नगरेको जनप्रतिनिधिको भनाई छ।