काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणले अझै गति लिन सकेको छैन। ९ प्याकेजमा निर्माणअघि बढाउने योजना बनाइएको थियो। त्यसैअनुरूप केही प्याकेजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी अघि बढाइएको छ भने केहीको अध्ययन सकिए पनि निर्माण अघि बढेको छैन।
रेल विभागका अनुसार वर्षेनि कम बजेट छुट्याइएकाले निर्माणले गति लिन नसकेको हो। वर्षेनि सरकारले झन्डै ८/१० अर्ब बजेट छुट्याउने गरेको मा यो वर्ष अझै घटेर साढे ६ अर्ब बजेट छुट्याइएको छ।
आयोजना पूरै सम्पन्न गर्न ठूलो रकम आवश्यक भए पनि एउटा खण्डलाई पहिलो प्राथमिकता दिएर निर्माण अघि बढाउन सकिने विभागले जानकारी दिएको छ।
बर्दिवास–निजगढ प्याकेजमा पहिले बजेट सुनिश्चित गरेर बाँकी काम अघि बढाउने गरी योजना बनाइएको छ। यो एउटा प्याकेजमा काम गर्न सकेमा सो रेलमार्ग जयनगरबाट बर्दिवाससम्म पुग्न सक्ने विभागका महानिर्देशक दीपककुमार भट्टराईले जानकारी दिए। भारत सरकारको लगानीमा निर्माण भएको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्मको रेलमार्ग तयारी अवस्थामा छ।
विभागले अहिले निर्माणको काम बर्दिवास निजगढ खण्डमा मात्रै अघि बढाएको छ। झन्डै ६९ किमी लम्बाइको सो खण्डमा सुधार र पुल निर्माणको काम भइरहेको महानिर्देशक भट्टराइले बताए। उक्त खण्डमा रेलको ट्र्याक राख्ने, स्टेशन बनाउने, विद्युतीय काम र सिग्निलिङको काम गर्नुपर्ने उनले जानकारी दिए।
निर्माण भइरहेको प्याकेजमा पनि सम्पन्न हुन पाँच वर्ष लाग्ने विभागले बताएको छ। बजेट सुनिश्चित र बहुवर्षीय ठेक्काका लागि कारबाही अघि बढाइएको उनले बताए।
निजगढदेखि चितवान खण्डमा अझै अध्ययन हुन बाँकी छ। अरू खण्डमा विस्तृृत अध्ययन सकिएको छ।
अहिलेसम्म सरकारको बजेटबाटै रेलमार्गको अध्ययन र थोरै निर्माण अघि बढिरहेको छ। अहिलेसम्म रेलमार्गमा वैदेशिक लगानी सुनिश्चित् नभएको महानिर्देशक भट्टराईले बताए। निर्माणको तयारीका लागि पहिले अध्ययन र जग्गा प्राप्तिमा लागिएको छ।