सुनसरी। सुनसरीको बुढीगंगा गाउँपालिका–३ औरावनीमा निर्माणाधीन वेयरहाउस (खाद्यान्न भण्डारण) को काम ९५ प्रतिशत पूरा भएको छ। दुहबी-इनरुवा सडकखण्डमा पर्ने औरावनीमा ४ बिघा क्षेत्रफलमा निर्माण भइरहेको खाद्यान्न भण्डारण कक्षको काम ९५ प्रतिशत पूरा भएको हो।
वीरगंजको औद्योगिक घराना निम्बसको अगुवाईमा निर्माण भइरहेको खाद्यान्न भण्डारण दुई महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल वेयर हाउजिङका प्रमुख कार्यकारी निर्देशक जयमुकुन्द खनालले बताए।
निम्बस समूहको प्रोबायोटेक प्रालि, रुपन्देहीको श्रीनगर एग्रोफर्म, काठमाडौंको टिम भेन्चर, टीएनए इन्भेष्टमेन्ट कम्पनी लगायत ७ वटा साझेदारले नेपाल वेयर हाउजिङ कम्पनी बनाएर लगानी गरेका छन्। कम्पनीले तराईका सुनसरी, पर्सा र कपिलवस्तुमा १ अर्ब ४९ करोडको लगानीमा ५५ हजार टन क्षमताको तीन वटा खाद्यान्न गोदाम परियोजनाको निर्माण अघि बढाएको थियो।
सुनसरीमा ४ बिघा,पर्सामा ५ बिघा र कपिलवस्तुमा ४ बिघा गरी कुल १३ बिघा जग्गा खरिद गरेर परियोजना अघि बढाइएको छ।
यो परियोजनाका लागि कुल लागत १ अर्ब ४९ करोड लाग्ने अनुमान गरिएको छ। सुनसरीमा निर्माण गरिएको गोदाममा १५ हजार टन गहुँ र मकै, पर्सामा २५ हजार मकै, गहुँ र भटमास, कपिलवस्तुमा १५ हजार मकै र गहुँ भण्डारण गर्न विभिन्न आकारको भकारी निर्माण हुने बताइएको छ।