काठमाडौं। कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको काम २० प्रतिशत पूरा भएको छ। सुर्खेतदेखि कोहलपुरसम्म नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको लाइनको काम अघि बढेको हो।
आयोजना प्रमुख रवी कुमार चौधरीका अनुसार आयोजनाको ५ वटा जग खन्ने काम सकिएको छ। १० वटा जग खन्ने काम भइरहेको छ। ५० किलोमिटर लामो लाइनमा १६१ वटा टावर निर्माण हुने उनले बताए। बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म १३ हजार ६५ रुख विरुवा काट्नु पर्नेछ। सुर्खेतमा ६ हजार ८ सय २०, बर्दियामा ३ हजार ३ सय २० र बाँकेमा २ हजार ९ सय १६ वटा रूख काट्नुपर्ने पनि चौधरीले जानकारी दिए।
रुख कटान स्वीकृतका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ। मन्त्रालयले कटान स्वीकृत दिन ढिला गर्दा निर्माणले गति लिन सकेको छैन।
लाइनको ९० प्रतिशत रुट वन क्षेत्रमा पर्दछ। १३० वटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्जमा र बाँकी ३१ वटा पोल व्यक्तिको जग्गामा पर्दछ। आयोजना सम्पन्न गर्न ७० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। प्रसारण लाइनको काम अबको २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।
प्रसारण लाइन निर्माणपछि त्यस क्षेत्रका जनताले पाउने विद्युत सेवाको गुणस्तरमा सुधार हुनेछ। विद्युत पहुँच नपुगेका क्षेत्रमा विद्युतीकरण विस्तार गर्न सकिनेछ। अहिले सुर्खेतमा ३३ केभी क्षमताको प्रसारण लाइन मात्रै सञ्चालनमा छ।
यो प्रसारण लाइन निर्माण गर्न २०७७ साउनमा ठेकेदार नियुक्त गरिएको थियो। भारतको कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’ले प्रसारण लाइन निर्माणको ठेक्का पाएको छ।
२०६९ मा अध्ययन अनुमति लिई २०७५ मा अध्ययन पूरा गरिएको आयोजनाले २०७७ जेठ २९ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएको हो। प्रसारणलाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा यसको बफरजोन, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको बफर जोन तथा सामुदायिक र सरकारी वन पर्नेछ।