दोलखा। भीमेश्वर नगरपालिका–६ सिमपानी पार्कदेखि भ्यूटावर बुद्धपार्कसम्म दुई हजार सिंढी निर्माण भएको छ । खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि पदमार्ग निर्माण भएको हो । चरिकोट बजारबाट भ्यूटावरसम्म बिहानीपखको हिँडाइ र साँझपखको हिँडाइका लागि सहज बनाउन पदमार्ग निर्माण गरिएको हो ।
हिँडडुलले शरीरलाई पर्याप्त व्यायाम पुग्ने र स्थानीयलाई यस क्षेत्रमा आवातजावत गर्न सजिलोका लागि पदमार्ग निर्माण गरिएको भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धरले जानकारी दिए । बढ्दै गएको सहरीया जनजीवनलाई स्वस्थ राख्न र प्राकृतिक वातावरणसँग सामिप्यताका लागि जंगलभित्रैबाट पदमार्ग बनाएको उनले बताए।
पर्यटकीय नगरपालिका भएकाले बाहिरबाट आएका पाहुनालाई बिहानी समयमा पदमार्गमार्फत् भ्यूटावरसम्म जान सजिलोका लागि पनि यस पदमार्ग निर्माण गरिएको उनले बताए । पदमार्ग बनेपछि भ्यूटावर र राङराङथलीसम्म पर्यटक पुग्न पनि सजिलो हुने उनले बताए । चरिकोटलाई पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उनले बताए ।
भ्यूटावरसम्म पर्यटक पुग्नका लागि आगामी वर्षका लागि सडक कालोपत्रे गर्ने गरी बजेटसमेत विनियोजन गरेको छ । यूएसएआईडी नेपालको आर्थिक सहयोग र भीमेश्वर नगरपालिकाको समन्वयमा सिमपानी निर्माण सेवा प्रालिले ६ महिनामा पूरा गर्ने गरी गत माघमा सम्झौता गरेको थियो । भीमेश्वर नगरपालिका १ र ६ सिमपानी पार्क हुँदै बुद्धपार्क भ्यूटावरसम्म दुई हजार वटा सिंढीले जोडिने छ ।
यूएसएआईडीको तयार नेपालमार्फत् विपद् जोखिम व्यवस्थापन परियोजना अन्तर्गतको बजेटबाट कुल लागत भ्याटबाहेक एक करोड ३३ लाख रुपैयाँमा निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको थियो । भीमेश्वर नगरपालिका पूर्वाधार शाखा प्रमुख सुरेश राउतले पदमार्गमा प्रवेश गेट, ठाउँठाउँमा विश्रामस्थलसमेत राखिएको छ । १।५ किलोमिटर उकालो बाटोमा दुई हजार वटा सिंढी निर्माण गरिएको बताए ।
तीन वर्षअघि थामी जातिको उद्गमस्थल राङराङथलीदेखि बुद्धपार्कसम्म दुई किलोमिटर सिंढी निर्माण गरिएको थियो । बुद्धपार्कदेखि भ्यूटावरसम्मको पाँच सय मिटर भने सडकले नै जोडिएकाले यहाँ पदमार्ग नभएको बताए । सिमपानी–भ्यूटावर–राङराङथलीसम्म पदमार्गले जोडिएको छ । विभिन्न प्रजातिको जडिबुटी, बोटविरुवा भएकाले पर्यापर्यटनमा यसले महत्वपूर्ण योगदान दिने उनले बताए ।
तयार नेपालले चालु आर्थिक वर्षमा नै भीमेश्वर नगरपालिका–६ रामकोटमा १७ लाखको लागतमा सिँंचाइ योजनासमेत निर्माण गरेको छ । यसअघि मर्याङ खोला पहिरो नियन्त्रण, साङखोला पहिरो रोकथाममा काम गरेको छ । तयार नेपालका फिल्ड संयोजक थिरबहादुर थापामगरले भीमेश्वर नगरपालिकामा विपद् व्यवस्थापन र पर्यापर्यटनका कार्यक्रममा काम गरिरहेको जानकारी दिए । कारोबार दैनिकबाट