बिर्तामोड। पहिलोपल्ट कालोपत्रे भएको करिब ४० वर्षपछि झापाको बिर्तामोड–शनिश्चरे सडक खण्डमा कालोपत्रे निर्माणकार्य सम्पन्न भएको छ । कालोपत्रे भएसँगै लामो समयदेखि अवरोध खेपिरहेको झापाको बिर्तामोड–शनिश्चरे सडक सञ्चालनमा आएको छ ।
भत्किएर वर्षौंदेखि अवरुद्ध हुँदै आएको सडकको बाँकी रहेको खण्डमा कालोपत्रे निर्माण भएसंँगै बुधबारबाट सवारीसाधन सहजै आवतजावत गर्न थालेको हो । गत असार ९ गते सुरु भएको सडक कालोपत्रे गर्ने कार्य मंगलबार सम्पन्न भएपछि बुधबारबाट सवारीसाधन आवतजावत गर्न थालेको हो ।
सडक कालोपत्रेका लागि संघीय सरकारद्वारा विनियोजित २५ करोड रुपैयाँअन्तर्गत हाल १५ सय ६० मिटर सडक कालोपत्रे गर्न करिब १५ करोड ६० लाख रुपैयाँमा सम्झौता भएको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए । सडक डिभिजन कार्यालय दमकबाट सञ्चालन निर्वाचन रणनीतिक सडक शीर्षकअन्तर्गत सडक कालोपत्रे गरिएको बताउँदै उनले सडक कालोपत्रे नहुँदा स्थानीयवासीलाई निकै समस्या भएको र आफूलगायत सरोकारबाला सबैले सम्बन्धित निकायसँग वार्ता तथा छलफल गरेर कालोपत्रे गरेको जानकारी दिए ।
‘प्रवीण मैनाचुली शान्ति’ जेभीलाई २०७९ जेठमा १५ करोड ६० लाख रुपैंयाँमा ठेक्का लागेको सो सडकको पूरा स्वरुप बिर्तामोडको टाटा सोरुमदेखि कप्तानबारी हुँदै लक्ष्मीपुरबाट कालिस्थानसम्म ६ दशमलव २ किलोमिटरको हुने उनले बताए । बिर्तामोडदेखि दासपुलसम्म ४ लेन र दासपुलदेखि कप्तानबारीसम्म ७ मिटरको सडक निर्माण हुने सम्झौतामा उल्लेख भएको र हाल सबैभन्दा जीर्ण रहेको खण्ड दासपुलदेखि कप्तानबारीसम्म १ दशमलव ५ किलोमिटर कालोपत्रे गर्ने कार्य सम्पन्न भएको बताइएको छ ।
यो सडक खण्डमा यसअघि सडकमा सवारीसाधन चलाउन नसक्ने गरी खाल्डा–खुल्डी भएका कारण सवारीसाधन दुर्घटनामा परेपछि स्थानीयवासीले सडक निर्माण गर्न दबाब दिने उद्देश्यले पटकपटक सडक अवरुद्ध गर्दै आएका थिए । तीन महिना अघिदेखि स्थानीयवासीले सडक निर्माण नभएको भन्दै बन्द गरेको सडक स्थानीयवासीको दबाबपछि कालोपत्रे गर्न सुरु गरिएको थियो ।
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा नगरपालिका–६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोलालगायत जनप्रतिनिधिसहित स्थानीयवासीको पहलमा सडक कालोपत्रे गरिएको हो । अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रे गरिएको र उक्त सडक कालोपत्रेसँगै स्थानीयबासी हर्षित भएका छन् ।
सडक निर्माण नहुँदा सवारीसाधन उक्त बाटोमा गुड्दा सडक आसपास रहेका स्थानीय धुलैमुलै हुने गरेको थियो । सडक आसपासका घर, पसल साथै पैदलयात्री, अटो, मोटरसाइकल, साइकललगायतका सवारीसाधनमा समेत हिँडडुल गर्न धुलोका कारण समस्या हुन थालेपछि पटकपटक सडक कालोपत्रेको माग राख्दै आफूहरूले सडक बन्द गरेको संघर्ष समितिका संयोजक शिवलाल आचार्यले बताए ।
आफूहरूले ‘स्थानीयवासीको भेलाबाट संघर्ष समिति निर्माण गरीे तीन महिना अघिदेखि पूर्णरुपले सडक नै बन्द गरेको र हामीहरूकै दबाबका कारण अहिले सडक कालोपत्रे हुँदा खुशी लागेको उनले बताए । सडक कालोपत्रेको प्रवीण मैनाचुली शान्ति जेभी बिर्तामोडसँग सम्झौता भएको र सडक कालोपत्रेको चौडाइ ७ मिटर रहने र ४० सेन्टीमिटर मोटो हुने सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्वल खतिवडाले जानकारी दिए ।
सडक कालोपत्र भएसंँगै उक्त सडक मार्गको प्रयोग गर्दै पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडबाट शनिश्चरे–खुदुनाबारी हुँदै इलामसम्मका यात्रुका लागि सहज भएको छ । कारोबार दैनिकबाट