इलाम। इलामको माई नगरपालिका–१ को तेह्रकुने सिमसार क्षेत्रको प्रचारको लागि चार दिने महोत्सव आयोजना गरिने भएको छ।
भौगोलिक र जैविक विविधताको दृष्टिकोणले संवेदनशील मानिएको चुरे क्षेत्रमा संरक्षण गरिएको तेह्रकुने सिमसार क्षेत्रको प्रचार प्रसारको लागि महोत्सव आयोजना गरिने भएको हो।
आयोजकले पत्रकार सम्मेलन गरेर आगामी पुस ८ गतेदेखि ११ गतेसम्म महोत्सवको आयोजना गरिएको जानकारी दिएका हुन्।
चुरे क्षेत्रमा संरक्षण गरिएको पोखरी जैविक र पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण रहेको महोत्सव आयोजक समितिका अध्यक्ष केहरसिं राईले बताए। महोत्सवमा १६ देखि २० हजार आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ।
खासै चर्चामा नरहेको तेह्रकुने पोखरी स्थानीय र सरकारको सहभागी तामा संरक्षण थालिएको हो।
पोखरीको संरक्षणको लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, वन मन्त्रालय र जलाधार व्यवस्थापन कार्यालय उदयपुरले लगानी गरेका छन्। सिमसार क्षेत्रको पुनरुत्थानमा अहिलेसम्म ४० लाख रुपैयाँ लगानी गरिसकेका छन् ।
सिमसार क्षेत्रको लागि अहिलेसम्म एक सय रोपनीभन्दा बढी जग्गा व्यवस्थापन भइसकेको तेह्रकुने सिमसार क्षेत्रका सचिव गोविन्द सोताङले बताए। ३५ रोपनी जग्गामा फैलिएको पोखरी इलामको पर्यटकीय रुटको गन्तव्य हुने सोताङले बताए।
‘भर्जिन ल्याण्ड’कै रूपमा रहेको चुरे क्षेत्रको पर्यटकीय सम्भावना बोकेको तेह्रकुने सिमसार क्षेत्रको विकासको लागि स्थानीयकै अग्रसरतामा डिपिआर समेत भइसकेको छ। डिपिआरमा बालबालिका देखि वृद्धवृद्धासम्मको लागि छुट्टाछुट्टै उद्यान बनाउने, आकाशे पुल, भ्यु टावर र पोखरीलाई सिँगार्ने योजना रहेको छ।