काठमाडौं। प्रकृतिको वरदान पोखरालाई गण्डकी प्रदेश सरकारले नेपालको पर्यटनको राजधानी घोषणा गर्न सङ्घ सरकारसँग माग गरिसकेको छ। उक्त क्षेत्र तलातलैया, सेती नदी, त्यहाँका पाखामा फल्ने सुन्तलालगायतका हरेक दृश्यले सो क्षेत्रमा जाने पर्यटकलाई लोभ्याउने गरेको छ। प्राकृतिक सुन्दरतासँगै पर्यटन लक्षित पूर्वाधारमा अर्बौंको लगानी गरिए पनि समय समयमा आउने प्राकृतिक विपत्तिले समस्या पार्ने गरेको त्यहाँका पर्यटन व्यवसायीले जानकारी दिएका छन्।
पोखराको पर्यटनले उचाइ लिँदै गरेका अवस्थामा दुई वर्षअघि भित्रिएको कोरोना भाइरसले सो क्षेत्रको पर्यटन प्रभावित बनेको छ। कोरोना महामारीका बीच आगामी दिनमा यसको प्रभाव अन्त्य भई पर्यटन पूर्ववत् फर्कने आशामा त्यहाँका पर्यटन व्यवसायी रहेका छन्। कोरोना महामारीका कारण प्रभावित पर्यटनलाई पूर्ववत्मा फर्काउने वातावरणका लागि सरकारका घोषित राहत तथा पुनःस्थापनाका कार्यक्रम तत्काल कार्यान्वयनमा आउनुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जनाएका छन्।
यसैगरी व्यवसायीलाई सहुलियतपूर्ण ऋणको कार्यान्वयनका साथै समयसीमा थप गरिदिने विषयलाई सरकारले तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गर्दै उनले व्यवसायीले लिएको ऋणको कम्तीमा दुई वर्षसम्म किस्ता र ब्याज तिर्ने गरी व्यवस्था गरिदिनुपर्ने बताएका छन्। “पर्यटन व्यवसायलाई बचाउनका लागि बैंक तथा वित्तीय संस्थाबाट कम्तीमा पाँच प्रतिशत ब्याजदरमा ऋण लिने व्यवस्था मिलाउन आवश्यक छ”, उनले भने, “सरकारले प्रदान गर्ने राहत तथा प्याकेजका कार्यक्रम ठूला, साना तथा मझौला सबै व्यवसायीले पाउने गरी व्यवस्था गर्न जरुरी छ।”
पोखराका होटेलमा मात्रै पौने चार खर्बको लगानी भइसकेको र त्यहाँको होटल व्यवसायका कारण झण्डै १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका साथै पोखराका साना तथा ठूला होटेलमा गरी ३० हजार शय्या सङ्ख्याको क्षमता रहेको उनले जानकारी दिएका छन्। यसैगरी कोरोनाका कारण यहाँका होटेल व्यवसायी मारमा परेको बताउँदै उनले यस अवस्थालाई दृष्टिगत गरी नेपाल सरकारको मौद्रिक नीतिअन्तर्गत घोषित पुनर्कर्जाको विषय साना तथा मझौला सबै व्यवसायीले पाउने गरी व्यावहारिक कार्यान्वयनमा आउन नसकेको जानकारी दिएका छन्।
पूर्वाधार विकासकै क्रममा पछिल्ला समयमा पुम्दीकोटमा बनेको विशाल महादेव मूर्तिसहितका संरचना आदिले गन्तव्यस्थल समेत बढ्दै गएको छ। हालै सञ्चालनमा आउन लागेको पोखराको सेदी–राङकोट केबुलकारसहित विभिन्न पूर्वाधारमा ठूलै लगानी भइरहेको छ। हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यको पोखरा बाससँगै यो क्रमशः पर्यटकीय गन्तव्यका रूपमा स्थापित बनेको हो।
नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले व्यवसायलाई जोगाउनका लागि सरकारका घोषित कार्यक्रम पनि प्रभावकारी कार्यान्वयन हुन नसक्नु चिन्ताको विषय बनेको बताउँदै बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनका लागि राखिएका प्रावधान व्यवसायमैत्री बन्न नसकेको जनाएका छन्।
गण्डकी प्रदेश प्रकृति र संस्कृतिमा सम्पन्न रहेको बताउँदै पर्यटकीय सम्भावना बोकेका गाउँको कनेक्टिभिटी बढाउनुपर्नेमा पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले जोड दिएका छन्। सम्भाव्य ठाउँमा पूर्वाधार विकाससँगै लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँदै सुवेदीले यसका लागि सरकारको व्यवसायीमैत्री नीति हुनुपर्नेमा जोड दिएका छन्। पोखराको प्राकृतिक सुन्दरतालाई पर्यटनसँग जोड्न सकेमात्रै पनि यसबाट समृद्धि हासिल गर्न सकिने पर्यटन व्यवसायीहरुले बताएका छन्।