काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास नहुनुमा पुँजी अभावभन्दा पनि बुझाइ कारक रहेको बताएका छन्। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आयोजना गरेको सरोकारवालाहरूसँगको छलफलमा बोल्दै उनले विकासका लागि स्पष्ट धारणा बनाउनुपर्ने आवश्यक्ता रहेको बताए।
नेपालको सन्दर्भमा विकास गर्न पुँजीको समस्या होइन, विकाससम्बन्धी धारणा स्पष्ट बनाउन जरुरी रहेको उनको भनाइ छ। स्पष्ट धारणा भनेको सरकारकै हुनुपर्यो, समाजको हुनुपर्यो, लगानीकर्ताको हुनुपर्यो, निजी क्षेत्रको हुनुपर्यो। यहाँ त्यो स्पष्ट धारणाको अभाव रहेको उनले बताए।
विकासमा स्पष्ट धारणा नहुँदा विकासले गति लिन नसकेको र पहिले सरकारले आफ्नो धारणा स्पष्ट बनाउनुपर्ने उनले उल्लेख गरे। सबैलाई उत्साहित बनाउने नीति बनाउँदा लगानीका लागि नेपालभित्रै पुँजी धेरै भएको तर त्यसको उचित सदुपयोग नभएको उनको भनाइ छ।
अहिले भर्खरै स्थानीय तहमा पनि बैंक पुगेर अलिअलि त्यहाँ पैसा राख्ने चलन बढेको छ, उनले भने, घरको दलिनमाथि पैसा राख्ने चलन अझै पनि रही आएको छ। यसरी ग्रामीण क्षेत्रमा रहेको पुँजीलाई समेत लगानीका लागि आकर्षित गर्ने नीति निर्माण गर्नुपर्नेमा उनले विशेष जोड दिए। विकासका लागि पुँजी, ज्ञान, प्रविधिसँगै नीति समेत आउने भएकाले नीति सरल र सहज हुनुपर्ने अर्थमन्त्री शर्माले बताए।
उनका अनुसार नीतिहरू नै विकासलाई ढिलो गर्ने खाल्का बनेका छन्। हाम्रा यस्ता पनि नीति छन् जुन सरकारको एउटा योजनाका लागि वन मन्त्रालय लगायत अन्यसँग स्वीकृति लिनुपर्छ। रुख काट्न विद्युत प्राधिकरणले दुई वर्ष स्वीकृतिका लागि कुर्नुपर्ने अवस्था पनि छन्। उनले पूर्वाधार निर्माणमा हुने पुँजी अभावलाई परपूर्ति गर्न निफ्रा जस्तो संस्थालाई बलियो बनाएर अगाडि लैजानुपर्ने बताए।