काठमाडौैं। नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव शिवहरि घिमिरेले अर्थमन्त्रालयको दादागिरीले निर्माण व्यवसायीले भुक्तानी नपाएको आरोप लगाएका छन्। उपमहासचिव घिमिरेले ४० अर्ब भुक्तानी पाउनुपर्नेमा निर्माण व्यवसायीलाई १५ अर्ब मात्र भुक्तानी गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
भुक्तानी भएको १५ अर्ब पनि पहुँचवाला व्यवसायीले मात्र पाएको उनको भनाइ छ। उपमहासचिव घिमिरेले भने, ‘निर्माण व्यवसायीको भुक्तानीमा अर्थमन्त्रालयले दादागिरी गरेको छ। मन्त्रालयको बजेट महाशाखामा प्रहरी राखेर पहुँचवाला बाहेक कसैलाई भित्र छिर्न नदिएर आफ्ना आफन्त र पहुँचवालालाई मात्र रकमान्तर गरेको छ।’
मन्त्रीस्तरिय निर्णय गरेर भएपनि असार मसान्तसम्म निर्माण व्यवसायीको सम्पूर्ण रकम भुक्तानी गर्न समेत निर्माण व्यवसायी महासंघले ध्यानाकर्षण गराएको छ। निर्माण व्यवसायीको ठूलो रकम लामो समयदेखि भुक्तानी नहुँदा सप्लाइ चेन नै अस्तव्यस्त हुने, निर्माण उद्योग सञ्चालन हुन नसक्ने, निर्माण कार्य अघि बढ्न नसक्ने भइ यसले समग्र देशको अर्थतन्त्र नै धरासायी बनाउने महासंघको भनाइ छ।
महासंघका उपमहासचिव घिमिरेले गत असार १५ गते आत्महत्या गरेका निर्माण व्यवसायी डम्बरदत्त भट्टको स्मरण गर्दै भने, ‘असार मसान्तसम्म भुक्तानी नभए अन्य धेरै निर्माण व्यवसायी आत्महत्या गर्न बाध्य हुनेछन्। र यसको जिम्मेवारी राज्यले लिनुपर्ने छ। यो अवस्था सिर्जना हुनुअघि नै मन्त्रीस्तरबाट निर्णय गरेर भएपनि निर्माण व्यवसायीको सम्पूर्ण भुक्तानी असारमसान्तसम्म गरिसक्न म प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गराउन चाहन्छु।’
उपमहासचिव घिमिरेले असार मसान्तसम्म पनि सम्पूर्ण रकम भुक्तानी नभए निर्माण व्यवसायीले देशभरका निर्माण कार्य ठप्प गर्ने, सम्बन्धित सरकारी कार्यालय समेत बन्द गर्ने गरी आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन्।