काठमाडौं। तनहुँको म्याग्दे गाउँपालिका–७ डाँडागाउँ हर्कपुरमा होमस्टे सञ्चालन गरिएको छ। समुद्री सतहबाट करिब ९०० मिटर उचाइमा रहेको उक्त होमस्टे पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे घुम्तीबाट सात किमी र सदरमुकाम दमौलीबाट दश किलोमिटर दूरीमा रहेको छ। सो स्थानबाट प्राकृतिक मनोरम दृश्य सजिलैसँग अवलोकन गर्न सकिने जनाइएको छ।
सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका लागि पनि उक्त ठाउँ प्रसिद्ध रहेको छ। डाँडागाउँमा निर्माण गरिएको भ्यूटावरबाट सगरमाथा, गणेश, मनास्लुलगायत विभिन्न हिमाल सहजै अवलोकन गर्न सकिने जनाइएको छ। उक्त भ्युटावरबाट जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित अग्लो छिम्केश्वरीडाँडा, गोरखा, लमजुङ, चितवन, पाल्पालगायत जिल्लाका अग्ला हरियाली र रमणीय डाँडापनि अवलोकन गर्न सकिन्छ। त्यसैगरी तनहुँको बन्दीपुर बजार क्षेत्र डाँडा, श्याम्घा, साँगेफाँट, मादी नदी कलेस्ती फाँटको साथै छिमेकी जिल्लाको गोरखा बजारदेखि मनकामना मन्दिर पनि सजिलै हेर्न सकिने हुँदा पर्यटक उक्त क्षेत्रमा आकर्षित हुने गरेका छन्।
यसैगरी पर्यटन प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारको संसदीय विकास कोषबाट गतवर्ष ८ लाखको लगानीमा सो टावर निर्माण गरिएको थियो। भ्यू टावर निर्माण गरिएको क्षेत्रमा तारबार गर्न म्याग्दे गाउँपालिकाले ५ लाख प्रदान गरेको होमस्टेकी अध्यक्षले जानकारी दिएकी छिन्। गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पटक–पटक गरी ३० लाख बजेट विनियोजन गरेपछि आवश्यक सामुदायिक भवन निर्माण गरिएको छ। त्यसैगरी गाउँपालिका कार्यालयले पनि होमस्टे सञ्चालन शुरू गर्दादेखि आर्थिक सहयोग गर्दै आएको छ। यसले होमस्टे सञ्चालक थप उत्साहित बनेको छ।
२०७५ देखि होमस्टे सञ्चालनमा आएपछि स्थानीय अर्गानिक उत्पादनका परिकारलाई प्राथमिकतामा राखिएको जनाइएको छ। त्यहाँको प्राकृतिक सौन्दर्यले पर्यटकलाई लोभ्याउने गरेको छ। हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य र नेपालमा मात्र पाइने दुर्लभ चराचुरुंगी र ग्रामीण परिवेशले पर्यटकलाई आकर्षित गर्ने गर्दछ। यसैगरी होमस्टेमा पर्ने बस्तीमा पर्यटकलाई त्यहाँका मौलिक लोक, संस्कृतिले स्वागत गर्ने गरिएको छ।