दाङ। निर्माण व्यवसायीको चरण लापरबाहीका कारण सात वर्षसम्म पनि पुल निर्माण हुन सकेको छैन। दुई वर्षभित्रमा निर्माण गरिसक्ने गरी सम्झौता भएको पुल सात वर्ष बितिसक्दा दुई वटामात्र पिल्लर ठडिएका छन् । पिल्लर ठडिनेभन्दा अरु काम हुन सकेको छैन ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ गिधनियास्थित तुई खोलामा पुल निर्माणका लागि २०७४ सालमा २०७६ साल असोज महिनामा पुल निर्माणको काम सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो । तर हालसम्म पनि निर्माण हुन सकेको छैन । सडक डिभिजन कार्यालयका अनुसार पुल निर्माणको ठेक्का बाँके नेपालगन्जको एड्भेञ्चर जेबी जेभीले पाएको थियो ।
ठेक्का सम्झौताअनुसार निर्धारित समयमा म्यादथप नभएपछि अहिलेसम्म चारपटक म्याद थप भइसकेको छ तर पुल निर्माणको काममा भने प्रगति हुन सकेको छैन । चौथो पटक थप भएको म्यादअनुसार पुल २०८० असार १४ गतेसम्म निर्माण भइसक्नु पर्ने थियो तर निर्माण व्यवसायीको चरम लापरबाहीका कारण चारपटक म्याद थप हुँदा पनि पुल निर्माणको काम हुन नसकेको स्थानीय अरुण नेपालीले बताए ।
काम सुरु भएको लामो समयसम्म पनि पुल निर्माण हुन नसक्दा जनताले दुःख पाएको भन्दै नेपालीले भने, ‘पुल निर्माणको काम सुरु हुँदा जनतामा खुसी छाएको थियो । वर्षौंपछि वर्षात्को समयमा दिने दुःख हट्ने भएझैं लागेको थियो तर ठेकेदारले काम नै नगर्दा अब त पुल पनि बन्दै कि झैं लाग्छ’ उनका अनुसार ७१ मिटर लम्बाइको पुल सात वर्षसम्म बन्न सकेको छैन । पुल निर्माण हुन नसक्दा स्थानीयलाई हिँडडुल गर्नसँगै बालबालिकालाई विद्यालय जान आउन समस्या हुने गरेको छ ।
पुल निर्माणका लागि सडक डिभिजन कार्यालय दाङले निर्माण व्यवसायीलाई पटकपटक आग्रह गर्दासमेत पुल निर्माणको काम अघि नबढाएपछि ठेक्का तोडिएको सडक डिभिजन दाङका इन्जिनियर महेश विकले जानकारी दिए । ठेक्का तोडिएपछि निर्माण व्यवसायीले अदालतमा मुद्दा दायर गरेकाले केही समय काममा ढिलाइ भएको भन्दै अब नयाँ आर्थिक वर्षको भदौ महिनामा नयाँ टेण्डर गरेर पुल निर्माणको कामलाई अघि बढाउने तयारीमा कार्यालय रहेको सडक डिभिजन दाङका इन्जिनियर विकले बताए ।
निर्माण व्यवसायीको लापरबाहीका कारण लामोसमय पुल हुन नसकेको भन्दै इन्जिनियर विकले भने, ‘पुल निर्माणका लागि पटकपटक आग्रह ग¥यौं, तर निर्माण व्यवसायीले काम गर्ने नदेखिएपछि अहिले ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थालेका छौं ।’ निर्माण व्यवसायीको लापरबाहीका कारण दुई वर्षमा बन्नु पर्ने पुल सात वर्षसम्म बन्न नसक्दा ठेक्का तोड्न बाध्य भएको उनको भनाइ छ ।
उनले भने, ‘त्यो ठेकेदारबाट काम नहुने देखेपछि चैतमा ठेक्का रद्द गरेका थियौं तर नयाँ ठेक्का टेण्डरको काम अगाडि बढाउनु पर्ने समयमा ठेकेदार कम्पनीले त्यो काम आफैले गर्न पाउनुपर्ने भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । अहिले त्यो मुद्दा पनि अदालतले खारेजी गरिदिएपछि नयाँ ठेक्काको बाटो खेलेको छ ।’ अब आउँदो आर्थिक वर्षबाट पुल निर्माणको काम अगाडि बढने कार्यालयको भनाइ छ । ६ करोड ८२ लाख लागतमा पुल निर्माणका लागि ठेक्का भएको थियो। कारोबार दैनिकबाट