पर्वत। पर्वतको जलजला गाउँपालिका–८ को खनीयाघाट–दमुवाखोला–नाग्लीवाङ सडक स्तरोन्नति गरिएको छ । वि.स. २०६४ मा मार्ग खोलिएको यो सडक गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा १६ वर्षपछि स्तरोन्नति भएको हो ।
गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिएको जलजला–८ का वडाध्यक्ष हरिविकास जिसीले बताए । ‘साँघुरो र अप्ठ्यारो सडक तथा घुम्तीलाई फराकिलो बनाएर पर्खाल र नाली निर्माण गर्नुका साथै सडक ढलान भएको छ,’ उनले भने, ‘दमुवाखोलादेखि नाग्लीवाङसम्मको तीन किलोमिटरभित्रको सडकलाई स्तरोन्नति गरिएको हो ।’
सडक विस्तार, नाली र पर्खाल निर्माणका साथै ढलानका लागि दुई करोड बजेट विनियोजन भएको यस आयोजना निर्माणका लागि २०८० मंसिर महिनामा साहना–सक्षम जेभीले एक करोड ३३ लाख ५५ हजारमा ठेक्का सम्झौता गरेको थियो । गाउँपालिकाका प्राविधिक बिगनेस रेग्मीका अनुसार ५६४ मिटर ढलान, नाली, एक सय ५ घनमिटर पलम पर्खाल, १३० घनमिटर ग्याबियन पर्खाल निर्माण भएको छ ।
यसअघि चार मिटर फराकिलो सडकलाई विस्तार गरेर ६ देखि सात मिटर फराकिलो बनाइएको छ । सडक स्तरोन्नति भएपछि स्थानीयबासीलाई आवतजावत गर्न, कृषि उपज ढुवानी गर्न, निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान आपूर्ति गर्न सहज भएको छ । अप्ठ्यारो ठाउँको सडक ढलान, फराकिलो बनाएपछि यात्रावअधि छोटिएको, सहज र सुरक्षित भएको स्थानीयबासी सोम जिसीले बताए ।
यसअघि गाउँपालिकाको ५० लाख बजेटमा अप्ठ्यारो ठाउँमा पाँच सय मिटर सडक ढलान गरिएको थियो । नाग्लीवाङ र छिमेकी वडा बनौका एक हजारभन्दा बढी घरधुरीले यो सडक प्रयोग गर्दै आएका छन् । राष्ट्रिय राजमार्ग कालिगण्डकी करिडोरमा पर्ने दमुवाखोलादेखि नाग्लीवाङ हुँदै लुप्राङ जोड्ने यो सडक ११ दशमलव ५ किलोमिटर लामो छ ।
सडक पूर्णरूपमा स्तरोन्नतिका लागि ४८ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर स्रोतको खोजी गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । प्रदेश र संघीय सरकारसँग सडक स्तरोन्नतिका लागि योजना र बजेट प्रस्ताव गरेको गाउँपालिकाले जनाएको छ । कारोबार दैनिकबाट