काठमाडौं। नुवाकोटको विदुर नगरपालिकामा निर्माण भएको केन्द्रीय कारागारको भौतिक संरचना निर्माणको काम अन्ति चरणमा पुगेको छ। उक्त कारागार सुविधासम्पन्न रहने भएको छ। सात हजार कैदीबन्दी अटाउने क्षमता भएको केन्द्रीय कारागारको निर्माणको काम लगभग सकिएको केन्द्रीय कारागारका जेलर डोरेन्द्र निरौलाले जानकारी दिएका छन्।
उक्त कारागार निर्माणका लागि खम्बा क्याम्पमा रहेको करिब ५ सय ३४ रोपनी जग्गा कारागार व्यवस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण भइ शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङमार्फत करिब ४२ करोड रुपियाँको लागतमा कारागारको संरचना निर्माण भएको हो।
कारागार भवन निर्माणको काम लगभग सकिएको भएपनि अन्य काम बाँकी बाँकी रहेकाले हालै कैदीबन्दी सार्ने काम नहुने उनले बताएका छन्। सबै कुराको व्यवस्था मिल्यो भने फागुनसम्म एक हजार कैदीबन्दी सार्ने योजना रहेको उनको भनाइ छ। सुरक्षा, यातायात र कारागार कार्यालयको व्यवस्था हुने वित्तिकै कारागार सार्न सकिने जनाइएको छ।
सो कारागार पाँच वटा सेक्सनमा निर्माण भएको छ। २०७० साल चैत २० गतेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार निर्माण भएको कारागारमा सात हजार कैदीबन्दी अट्ने क्षमता रहेको छ। कारागार निर्माण कार्यको जिम्मा रमण जेबी कन्ट्रक्सनले लिएको थियो।
उक्त कारागारमा काठमाडौंस्थित केन्द्रीय कारागारमा भएको सबै सेवा सुविधा रहने जनाइएको छ। कारागारमा खेल मैदान, अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रवर्धन केन्द्र, योगकेन्द्र र किरियापुत्री कक्ष बन्ने भएको छ। नेपालमा कारागारहरुको अवस्था दयनीय रहेको साथै कतिपय कारागारमा न्यूनतम आधारभूत मानवीय पूर्वाधारहरु पनि नभएको र धेरैजसो कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरु राखिएको छ भने केन्द्रीय कारागारमा शौचालयको पनि व्यवस्था नभएको हुनाले हाल न्यूनतम आधारभूत मानवीय पूर्वाधारसहितको कारागार नुवाकोटमा निर्माण भइरहेको छ।