काठमाडौं। मेलम्चीको पानी आउने समय निश्चित नभएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नयाँ ट्युबेल निर्माण गर्ने तयारी अघि बढाएको छ। उपत्यकामा देखिएको खानेपानीको समस्या समाधान गर्न नयाँ ट्युबेल खन्ने तयारी अघि बढाएको हो।
केयूकेएलका अनुसार मागअनुसारको खानेपानी आपूर्ति व्यवस्थापन हुन नसक्दा उपत्यकामा खानेपानीको समस्या बढ्दै गएको र समस्या समाथान गर्न र खानेपानीको आपूर्तिलाई सहज बनाउन थप ट्युबेल निर्माणको काम थालनी गर्ने तयारी गरेको हो।
ट्युबेलको पानीलाई प्रशोधन गरेर पाइपलाइनबाटै वितरण भइरहेको छ। अब नयाँ ट्युबेल निर्माणको काम सुरु गर्न नपर्ला मेलम्ची आएसँगै आपूर्ति सहज होला भन्ने लागेको थियो, तर मेलम्चीको पानी कहिले आउने टुंगो लागेको छैन, त्यसैले खानेपानीको मागअनुसारको आपूर्ति केही सहज गर्न नयाँ ट्युबेल खन्ने तयारी गरेको केयूकेएलले जानकारी दिएको छ।
केयूकेएलका अनुसार चालू आर्थिक वर्षमा १३ वटा ट्युबेल निर्माण गर्ने लक्ष्य रहेकोमा टाखामा १, नरेफाँटमा १, सानेपामा १ ओटा ट्युबेल निर्माणको काम सम्पन्न भएको छ। ती ट्युबेलबाट दैनिक करिब ३० लाख लिटर पानी उत्पादन भइरहेको केयूकेएलले जानकारी दिएको छ।
बाँकी मध्यपुरमा १, लोकन्थलीमा १, तार्केश्वरमा २, बूढानीलकण्डमा २, महालक्ष्मीस्थान १, ललितपुर १, भक्तपुरमा र चाँगुनारायणमा १ गरी १० ओटा ट्युबेल निर्माणको काम छिट्टै थालीन गर्ने तयारी भइरहेको केयूकेएलको भनाइ छ। हाल जमिनमुनि पानी भए नभएको विषयमा अध्ययन भइरहेको छ।
भूगर्भविद्हरूले भने जमिनमुनिको पानीको बढ्दो प्रयोगका कारण उपत्यकाको जमिनको सतह भासिँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सतहमुनिको पानीको लेभल घटिरहेको र यसले जमिनसमेत भासिने खतरा बढाएको उनिहरु बताउछन्। जसले गर्दा पानी सुक्ने सम्भावना बढ्दो छ। खानेपानी मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै दैनिक ४५ करोड लिटर दैनिक आवश्यक छ।
हाल १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ। मेलम्चीको पहिलो चरणको आयोजना सुधारको काम सम्पन्न भएपछि १७ करोड लिटर पानी थप हुने छ। दोस्रो चरणको आयोजना सम्पन्न भएपछि भने पुनः थप ३४ करोड लिटर पानी वितरण हुने सरकारको योजना छ। मेलम्चीको दुवै चरणको आयोजना सम्पन्न भएपछि काठमाडौंबासीले दैनिक ५१ करोड लिटर पानी पाउँनेछन्।