काठमाडौं। चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको थियो । तर, हालसम्म पनि सडक विस्तारको काम सम्पन्न हुन सकेको छैन्।
यसैगरी सडक विस्तारमा भइरहेको ढिलाइले काठमाडौंको पूर्वी क्षेत्रको मुख्य यो सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्ने गरेको छ। समस्या नभएका सबै ठाउँहरुमा कालोपत्र भइसके पनि साँघुरा बस्ती भएका ठाउँमा कालोपत्र हुन बाँकी रहेको बताइएको छ। विगतका वर्षमा जग्गा प्राप्त हुन नसकेको ठाउँमा काम गर्न बाँकी रहेको छ। अहिले डाँछि, थली र तिवारी टोलमा विवादका कारण काम गर्न नसकिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ। २० मिटर चौडाइका लागि जग्गा उपलब्ध हुन नसकेपछि अब जति जग्गा उपलब्ध छ त्यसैमा कालोपत्र गरिने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताएका छन्। कतिपय ठाउँमा २० मिटर चौडा बनाएर पैदल यात्रु मार्ग बनाए पनि हाल स्थानीयवासीले त्यहाँ काम गर्न नदिएको आयोजनाले जनाएको छ।
उक्त सडक निर्माणको ठेक्का आगामी चैत्रसम्म भएकाले चैत्रसम्म सडक निर्माणको काम सक्ने सुचना अधिकारीले बताएका छन्। सो सडक कागेश्वरी–मनोहरा, गोकर्णेश्वर र शङ्करापुर गरी तीन नगरपालिकामा पर्दछ। लामो समयसम्म पनि विवादका कारण निर्माण अघि बढ्न नसकेपछि आयोजनाले पालिकाहरुसँगको समन्वयमा निर्माण अघि बढाएको थियो। त्यहाँका जनप्रतिनिधि चौडाइ बढाएरै कालोपत्र गर्नुपर्छ भन्ने पक्षमा रहेकाले समन्वय पनि गरेका थिए।
आयोजनाले सम्बन्धित नगरपालिका र वडासँगको समन्वयमा नै ती समस्या हल गरेर काम अघि बढाएको थियो। आयोजनाले चार वर्ष पहिले ठेक्का सम्झौता गर्दा पैदलयात्रुमार्ग, वर्षाको पानी जम्मा हुने पाइपलगायत संरचनासमेत निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो। सो आयोजनाले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता गरेपनि हाल झण्डै आधा चौडाइमा मात्रै मापदण्डअनुसार काम हुन सकेको जनाइएको छ।
मुआब्जा विवादसँगै सो सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन विस्तार, टेलिफोन र बिजुलीका खम्बा, ढललगायत संरचनाले पनि काममा अवरोध पुर्याएको थियो। पटक–पटक पत्राचार गर्दा पनि सम्बन्धित निकायले संरचना सार्न ढिलाइ गर्दा कतिपय स्थानमा आयोजना आफैँले ती संरचना हटाएर निर्माणस्थल खाली गराएर काम अघि बढाएको छ। सो सडक विस्तार गर्दा ठूलो सङ्ख्यामा भौतिक संरचना भत्काउनुपर्ने अवस्था रहेको र सडकसँगै घर भएका स्थानीयवासी आफ्नो घर भत्काएर सडक विस्तार गर्न नदिने पक्षमा रहेकाले सडक निर्माणमा अवरोध पुगेको थियो।
यसैगरी उपत्यकाका बिस्तारका सडकमध्ये सबैभन्दा पहिले यही सडकमा उपलब्ध चौडाइमा काम गर्ने निर्णय भएपनि अझै सम्पन्न हुन नसकेको हो। अधिकांश स्थानमा कालोपत्र भएपनि थोरै ठाउँमा बाँकी हुँदा सो सडकमा आवतजावत गर्न गाह्रो भएको स्थानीयवासीको गुनासो रहेको छ।