काठमाडौं। पोखरा महानगरपालिका–१७ महतगौडास्थित दुई शताब्दी पुरानो सदाशिव शिदेश्वर हरिहर मन्दिर परिसरमा विभिन्न पूर्वाधार निर्माणलाई अघि बढाइएको छ। पोखराको इतिहासको साक्षी मन्दिरलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने उद्धेश्यले सदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिको सक्रियतामा १ सय ८ गौमुखे धारा, शिवलिंगलगायत संरचना निर्माण गर्न लागिएको हो।
एक सय आठ गौमुखे धाराबाट पवित्र सेतीनदीको पानी निरन्तर झरि रहनाका साथै १०८ शिवलिंग, मुख्य र सहायक प्रवेशद्धार, विवाह तथा पितृ उद्धार मण्डप निर्माणका लागि अहिलेसम्म २१ लाख ३७ हजार १ सय ९५ रुपैयाँ संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेगेन्द्र शर्मा भण्डारीले जानकारी दिए।
उनका अनुसार जो कोहीले पनि आफ्ना पुर्खाका नाउँमा निर्माण गरिने एक शिवलिंग र एक धाराका लागि १५ हजार पाँच रुपैयाँ लिने मन्दिर सञ्चालक समितिको निर्णयअनुसार आर्थिक संकलन गरिँदै आएको छ।
पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले नवनिर्मित गेटको सोमबार एक समारोहका बीच उद्घाटन गर्दै धार्मिक पर्यटकको प्रचुर सम्भावना रहेको यस ऐतिहासिक एवं धार्मिक क्षेत्रको विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे। उक्त धार्मिक क्षेत्रमा करिब ३५ लाख रुपैयाँको लागतमा १ सय ८ शिवलिंग र १ सय ८ गौमुखे पानीको धारा निर्माण गरिने भएको छ।
व्यवस्थापन समितिका उपाध्यक्ष इसारा थापामगरका अनुसार सेतीनदीको तटमा अवस्थित उक्त धार्मिक क्षेमा हरिहर मन्दिरसँगै लक्ष्मीनारायण, गणेश, शिव, अकला, रामसिता मन्दिर र हवनकुण्ड निर्माण गरी नित्य पूजापाठ सञ्चालन हुँदै आएको छ।
विसं १८६४ मा मन्दिर निर्माण गरि महादेवको मूर्तिसमेत स्थापना गरेको मन्दिर परिसरमा अवस्थित सिलाखेलमा उल्लेख छ। पूजा सञ्चालनका लागि बिरौटा फाँटमा रहेको करोडौँ मूल्य बराबरको २९ रोपनी १२ आना ६० मुरी माटो बराबरको अब्बल खेत गुठी बक्स भएको लालमोहर अहिले पनि सुरक्षित छ।
गुठी जग्गा दुई शताब्दीपछि मात्र मन्दिरको हकभोगमा आएको हो। गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंमा सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर सिद्धगुफा बेदविद्याश्रम सञ्चालन समितिको नाममा दर्ता भएको उकत मन्दिर परिसर १ सय १९ रोपनी क्षेत्रफलमा फैलीएको छ।
उक्त धार्मिक एवम् पुरातात्विक महत्व बोकेको क्षेत्रमा प्रत्येक वर्ष माघे संक्रान्तिका दिन परम्परादेखि ढुंगेसाँघु मेला लाग्दै आएको छ। सो क्षेत्रमा सेतीनदी माथि प्राचिन ढुंगसाँघु पुल, पिपलको चौतारामा सिताको पाईला, रामसिता मन्दिर, पोखरा वृद्धाश्रमलगायत विभिन्न ऐतिहासिक एवं धार्मिक महत्व बोकेका मठमन्दिर तथा पुरातात्विक महत्वका स्थल छन्।