काठमाडौं। वीरगंजमा ५५ करोडको लागतको सुविधासम्पन्न अपार्टमेन्टको निर्माण शुरु गरिएको छ। घण्टाघरको ५ सय मिटर पश्चिम–दक्षिणस्थित पानगल्लीमा गोकुल अपार्टमेन्टको निर्माण शुरु भएको हो।
वीरगंजका व्यवसायी प्रदीप रुंगटाका कान्छा छोरा शुभम रुंगटा र अन्य केही व्यवसायी मिलेर संयुक्त रुपमा यो अपार्टमेन्ट निर्माण गरिरहेका छन्। सुभम दिल्लीबाट स्नातकको पढाई गरेर भर्खरै वीरगंज आएका थिए। आयात–निर्यात, टायर तथा हार्डवेयरको व्यवसाय सम्हालिरहेका बुवाको व्यवसाय भन्दा फरक उनले अपार्टमेन्ट निर्माणमा सम्लगन भएका हुन्।
निर्माण कम्पनीका प्रोजेक्ट इन्जिनियर अमरेश तिवारीका अनुसार अपार्टमेन्ट निर्माण को ठेक्का हिमालय बिल्डर्स एन्ड इन्जिनियर्स काठमाडौंले पाएको छ। अढाई महिना अघि सम्झौता भएको अपार्टमन्टको गत मंगलबारदेखि निर्माण शुरु गरिएको हो। उक्त अपार्टमेन्ट १३ तलाको हुनेछ। अपार्टमेन्टको भुईतलामात्र १ हजार ३४ वर्गमिटर रहने बताइएको छ। २० महिनामा निर्माण पूरा गरी हस्तान्तरण गर्ने लक्ष्य राखिएको रहेको छ।
ग्राउन्ड फ्लोरमा ३५ वर्गमिटर क्षेत्रफलको पानीको सतह रहने स्वीमिङ पुल, चारवटा पसल, पार्किङ, सैलुन, मन्दिर, गार्डरुम, दुई दुईवटा भर्याङ, लिफ्ट, कम्युनिटी हल र क्लब हाउसलगायत संरचना रहने छ। अपार्टमेन्टको वरपर बाटो र बगैंचा र आगलागीबाट बच्ने अग्नि नियन्त्रण उपकरण जडान गरिने छ।
अपार्टमेन्टको ११ औं तलादेखि १३औं तलासम्म दुई तलाको एउटा फ्ल्याटको डिजाइनमा बन्ने पेन्ट हाउस प्रकृतिको फ्ल्याट पनि निर्माण गरिने योजना रहेको इन्जिनियर तिवारीले जानकारी दिए।