तेह्रथुम। राष्ट्रिय गौरवको आयोजना कोसी करिडोर २ सय २० केभिए विद्युत् प्रशारण लाइन विस्तारको क्रममा साना-ठूला गरी २५ हजारभन्दा बढी गुराँससहितका रुख काट्न लागिएको छ। तेह्रथुम र ताप्लेजुङका सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रका रुख कटान गर्न लागिएको हो।
रुख काट्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। प्रशारण लाइन क्षेत्रमा परेका गुराँस, पात्ले, सल्ला, चिलाउने, फुस्रे, फलाँट, उत्तिस लगायत जातका रुख कटान हुने डिभिजन वन कार्यालयले जानकारी दिएको छ। सबै रूखबाट उत्पादन हुने काठ र दाउराको मूल्याङकन गर्न भने बाँकी छ।
रुख नोक्सानीको शोधभर्ना स्वरूप निर्माणकर्ताले वन कार्यालयले देखाएको खुल्ला जमिनमा एक रुख बराबर २५ बिरुवा रोप्नु पर्नेछ। अहिले धमाधम रुखको नम्बरिङ गर्ने काम भइरहेको छ। वन कार्यालयले रुखको छपान गर्नेछ। छपानमा क्षेत्रीय वन निर्देशनालय बाट पनि चेकजाँच हुनेछ।
जाँचपछि वन कार्यालयले रुख कटान आदेश दिने र त्यसपछि मात्र रुख काटिनेछ। काटिएका रुख प्रस्तावकले वन कार्यालयलाई हस्तान्तरण गर्नेछ। प्रशारण लाइन अन्यत्रबाट लैजान र गुराँससहितको घना जंगल जोगाउन वन संरक्षणकर्मी र स्थानीयले माग गर्दैआएका थिए। तर स्थानीयको मागको कुनै सुनुवाइ नगरी आयोजनाले रुख काट्न धमाधम टाँचा हानिरहेको छ।
स्थानीयले वर्षौंदेखि संरक्षण गरी हुर्काएका गुराँससहितका बहुमुल्य प्रजातिका रुख आयोजना निर्माणका क्रममा फँडानी हुने भएपछि त्यसको असर पर्यावरण र पिउने पानीको मुहान क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए।