खोटाङ। मध्यपहाडी लोकमार्गअन्तर्गत बाझे च्यान डाँडा–दिक्तेल सडक कालोपत्र नसकिँदै भत्किएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको माम्खामा भुलभुले नजिक पनि सडक छेउ भासिएको छ।
यसबाहेक अन्य दर्जनौं ठाउँमा सडकको छेउ, कल्भर्ड, भित्ता र टेवा पर्खाल भत्किएको छ। कति स्थानमा फिलिङ माटो माथि पिच गरिएकाले चर्किएको छ। भत्किएको कल्भर्ड, चर्किएको पिचलगायतलाई टालटुल पारेर आँखा छल्न खोजिएको भन्दै ध्यान दिनुपर्ने स्थानीयले बताएका छन्।
नगरपालिकाको दोर्पा, नेर्पा लगायतका क्षेत्रहरूमा गुणस्तरहीन सडक बनेको स्थानीयको गुनासो छ। दोर्पाको ढिकुरेको देवीथान भन्ने ठाउँमा जग नै चिरा परेर भत्किएको, नगरपालिका–६ नेर्पाको कालीखोला पाटी छेउमा सडकको मापदण्ड नपुग्ने गरी साँघुरो बनाइएको छ।
गुणस्तरहीन काम भएकाले सडक नसकिँदै भत्किएको जनप्रतिनिधिहरूले समेत गुनासो गरेका छन् । राष्ट्रिय गौरवको आयोजनामा पर्ने उक्त खण्डको ८८ किलोमिटरमध्ये च्यान डाँडा–पेलुङसम्म दश किलोमिटर पर्छ ।
च्यानडाँडादेखि दिक्तेलसम्मको सडक चार प्याकेजमा निर्माणको काम भएको हो। आयोजनाअन्तर्गतको एक नम्बर च्यानडाँडा–पेलुङसम्मको १० किलोमिटर सडक खण्डको काम बाँकी छ।
ग्राभेल सडकबाट यात्रा गर्दा सास्ती भोग्दै आएका स्थानीयहरु सडक कालोपत्रे हुँदा निकै उत्साहित भएका थिए। अहिले सडक कालोपत्रे भइ नसक्दै सडक भासिन थालेपछि उनिहरु निरास भएका छन्।