काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रदेशको समुन्नतिका लागि प्रदेश सरकारले अघि सारेका कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न माग गरेका छन्। मुख्यमन्त्री सिंहले प्रधानमन्त्रीसमक्ष मधेश विकासको २२ बुँदे माग राखेका हुन्।
२२ बुँदे मागअन्तर्गत कमला पुललगायत अन्य पुल निर्माण कार्य पूरा गरी हुलाकी राजमार्गको कार्य शीघ्र सम्पन्न गर्न भनिएको छ। त्यसैगरी जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर प्रांगण सौन्दर्यीकरण, निर्माणाधीन पूर्व–पश्चिम रेलमार्गको प्रदेशका प्रमुख सहरसँग सम्पर्कको व्यवस्था, जनकपुर जयनगर रेल्वे यातायात मालवाहक सेवाका लागि मालवाहक रेलको व्यवस्था हुनुपर्ने, जनकपुरधामस्थित १२ बिघा (रंगभूमि)लाई सुव्यवस्थित गर्न आवश्यक पहल, मधेश प्रदेशका आठवटै जिल्लाहरू भारतीय नाकासँग जोडिएकोले पर्यटक भित्र्याउन पर्यटकीय करिडोर निर्माण हुनुपर्ने र कमला नदीको बगरमा बगरखेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोतसाधनमा सहयोग गर्नुपर्ने उक्त २२ बुँदे मागपत्रमा उल्लेख गरिएको छ।
मुख्यमन्त्रीले बुझाएको मागपत्रमा भारतीय रेल नेटवर्कसँग जोडिएका दुईवटा सहर जनकपुर र वीरगन्जमा व्यापारका लागि आवश्यक स्रोत र साधनको प्रबन्ध, कृषि अनुदान कृषकको खातामा सीधै जानुपर्ने व्यवस्था, प्रदेशस्तरमा व्यापार तथा निर्यात केन्द्र सञ्चालन, बारा तथा पर्सामा औद्योगिक करिडोर कार्यान्वयन, हरेक जिल्लामा औद्योगिक क्षेत्र निर्मार्ण, मधेश प्रदेशमा आइटी पार्क निर्माण, वीरगन्ज ड्राई पोर्टको क्षमता अभिवृद्धि, लजिस्टिक कस्ट कम गर्न सिपिङ कम्पनी तथा पोर्ट अपरेटर दर्ता प्रक्रिया अघि बढाउनुपर्ने, कस्टम प्वाइन्ट डिएफ मनी एक्सचेन्ज काउन्टर, रेट डिस्प्ले, टुरिज्म इन्फरमेसन, भ्याट रिफन्ड सेन्टर, टिफ इजी रेस्टुरेन्ट आदिको व्यवस्था, भारतीय पर्यटकहरूलाई नगद ल्याउने सुविधा बढाएर दुई लाख भारतीय रुपैयाँ ल्याउन अनुमति दिनु पर्ने समेत उल्लेख छ ।