बागलुङ। कोरोना भाइरस महामारीका कारण लामो समयदेखि सुस्ताएको बागलुङको पर्यटन व्यवसाय यतिबेला चलायमान बनेको छ। दुई वर्षदेखि सुनसान बनेका होटल तथा पर्यटकीय क्षेत्र यतिबेला भरिभराउ देखिन थालेका हुन्।
कोरोनाले धकेलिएर सरेका राजनीतिक दलको महाधिवेशन, सभा समारोह, विवाह उत्सव, शैक्षिक भ्रमण अहिले धमाधम हुँदा बागलुङको पर्यटन व्यवसाय चलायमान देखिएको हो।
विशेष गरेर र राजनीतिक कार्यक्रमका कारण नै बागलुङ बजार चलायमान देखिएको पाइएको छ। जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका वडा, पालिका अधिवेशनले भेला, कार्यक्रम, छलफल लगायतका कार्य भइरहँदा पनि चहलपहल बढेको पाइएको छ।
अहिले यहि माहोलका कारण होटलहरु भरिभराउ छन् भने पर्यटकीस्थल पनि कतै खालि देखिएका छैनन्। यस अघि यात्रु नपाएर दिनभर खाली हुने सवारीसाधनहरु अहिले यात्रुको चाप धान्न सकिरहेका छैनन्।
पर्यटकीय क्षेत्र, होटल व्यवसाय, यातायात व्यवसाय अहिले फष्टाएको स्थानीयको भनाइ छ। अहिले कालिका मन्दिर, पञ्चकोट, लामो झोलुङ्गे पुल, शालग्राम संग्राहलयमा पर्यटकको संख्या ह्वात्तै बढेको पाइएको छ।