काठमाडौं। नब्बे सालको भूकम्पमा क्षतिग्रस्त भएको मल्लकालीन बप्पा (विश्वेश्वर महादेव) मन्दिरले ८८ वर्षपछि पुनर्जीवन पाएको छ। मध्यपुर थिमि नगरपालिका–४, बप्पाटोलमा अवशेष मात्र बाँकी रहेको मन्दिरले २०७२ वैशाखको भूकम्पपछि अन्य सम्पदाले जस्तै स्वरूप पाएको हो।
स्थानीयको आर्थिक, भौतिक र श्रमदानबाट पुनर्निर्माण थालिए पनि आर्थिक विवादले निर्माण ठप्प भएको थियो। पछि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुर र राष्ट्रिय कला संग्रहालयमार्फत पुनर्निर्माण भएको हो। मन्दिरसँगैको फल्चा (पाटी) को प्रचलित लिपिमा उल्लेख भएअनुसार नेपाल सम्वत् ९३५ मा मन्दिर पुनर्निर्माण भएको थियो। सो मन्दिर कहिले निर्माण भएको भन्ने यकिन मिति भने पत्ता लागेको छैन। १९९० सालमा सो मन्दिर भत्किएपछि पुनर्निर्माण हुन सकेको थिएन। मध्यपुर थिमि नगरको पहिचान खोतल्ने क्रममा मन्दिरको अवशेष जम्मा पारी मौलिक शैलीमै पुनर्निर्माण गरिएको जनाइएको छ।
स्वस्थानी व्रतकथाको नवौं अध्यायमा उल्लेख भएअनुसार सत्यदेवीले आगोमा हामफाली आत्मदाहपछि महादेवले बोकेर हिँड्ने क्रममा सत्यदेवीको मस्तक (शिर) को भाग खसेर बप्पा महादेव उत्पत्ति भएको लोकोक्ति छ। सो मन्दिरमा शिवरात्रि, साउनको प्रत्येक सोमबार, एकादशी र पूर्णिमाका दिन भजन तथा पूजा हुने गरेको स्थानीयले बताएका छन्। भूकम्पले क्षतिग्रस्त मन्दिरको शिलालेख, शिवलिंग, बसाहा, ढुंगाको जग, ढुंगाको कलात्मक प्रवेशद्वारका भागहरू त्यत्तिकै छरपस्ट अवस्थामा थिए ।
तिनै भागमा चुनासुर्की, डाँची अपा, माँ अपाको प्रयोगमा किल्ला नठोकी मल्लकालीन प्यागोडा शैलीमा दुईतले मन्दिर निर्माण गरिएको पुरातत्त्व विभागले जनाएको छ। सो मन्दिरको चारैतर्फ काठको कलात्मक बुट्टे ढोका राखिएको छ । ६५ लाख ८ हजार रुपैयाँ लागतमा मन्दिरको पुनर्निर्माण भएको विभागले जनाएको छ। सो मन्दिरको दायाँबायाँमा रहेको २ ऐतिहासिक पोखरी पुरिएर दुवैतर्फ सडक निर्माण गरिएको छ। यसैगरी मन्दिर परिसरको २ वटा ऐतिहासिक एवं कलात्मक ढुंगेधारामध्ये कमेरोटार जग्गा एकीकरण गर्ने क्रममा एक ढुंगेधारा पुरिएर लोप भइसकेको र अर्को लोप हुने अवस्थामा रहेको छ।
यसैगरी नब्बे सालको भूकम्पले क्षतिग्रस्त बनाएको दरबार स्क्वायर परिसरको मल्लकालीन बद्रीनाथ मन्दिर पुनःनिकर्माण हुन पनि लगभग ८४ वर्ष लागेको थियो। भावी पुस्तालाई सम्पदा बचाउन अभिप्रेरित गर्न तथा पौराणिक स्वरूपबारे जानकारी दिने उद्देश्यले बद्रीनाथ मन्दिरलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको हो। इँटा र चुनासुर्कीको जोडाइबाट पुनर्निर्माण भएको उक्त मन्दिर १० फिट ६ इन्च लम्बाइ र चौडाइ साथै ४१ फिटको उचाइको छ । सो मन्दिर पुनर्निर्माणका लागि विभागले करिब ४९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको जानकारी दिएको छ। दरबार स्क्वायर र अरनिको सभा भवनसँगैको जगन्नाथ मन्दिर १९९० साल अघिकै स्वरूपमा पुनर्निर्माण गर्ने योजना रहेको पुरातत्त्व विभाग प्रमुखको भनाइ छ। त्यसैगरी, भक्तपुर नगरपालिकाले गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरलाई १४ औं शताब्दीकै स्वरूपमा निर्माण गर्न सोमबार शिलान्यास गरेको छ। सो मन्दिरको शिलान्यास नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले गरेका छन्।
सो मन्दिर पुनर्निर्माणका लागि ३ करोड ७१ लाख बजेट लाग्ने अनुमान गरिएको छ। त्यसैले गर्दा मन्दिर पुनर्निर्माण गर्नको लागि नगरप्रमुखले आर्थिक सहयोग तथा श्रमदान गर्न संघ संस्था तथा सर्वसाधारणलाई आह्वान गरेको छन्। नब्बे सालकै भूकम्पमा भत्केको दरबार परिसरकै हरिशंकर मन्दिर पुनर्निर्माणका लागि तस्बिर, स्केचलगायत अभिलेखहरूको संकलन सकिएको पुरातत्त्व विभागले जनाएको छ। यसैगरी ललितपुर परिसमा भने १९९० सालको भूकम्पमा क्षतिग्रस्त भएका मन्दिरहरूको हालसम्म पनि पुनर्निर्माण सकिएको छैन। पुनर्निर्माण थालेको सात वर्षसम्म पनि पाटन दरबार स्क्वायरको भाइदेगः मन्दिर निर्माणकै क्रममा रहेको छ। सो मन्दिर पुनः मल्लकालीन प्यागोडा शैलीमा नै निर्माण हुने भएको छ।
नब्बे सालकै भूकम्पले क्षति पुगेको पाटन दरबार क्षेत्रकै उमामहेश्वर र भष्मेश्वर मन्दिरको पनि हालसम्म पुनर्निर्माण हुन सकेको छैन्। यीबाहेक पाटन सुन्धारामा भुकम्पले ध्वस्त बनेको ढुंगाबाट निर्मित ग्रन्थकुट शैलीको उमामहेश्वर मन्दिर, क्वाबहाल टोलको १७ वटा गजुर भएको राधाकृष्ण मन्दिर, स्वठ र सौगलको कृष्ण र शिव मन्दिर पनि पुनर्निर्माण हुन सकेको छैन। नब्बे सालको भुकम्पबाट क्षतिग्रस्त भएको हनुमान ढोकास्थित विष्णु मन्दिरको पुनर्निर्माण सुरु गरिएको छ।