केही वर्ष अगाडि चीनमा एउटा अनौठो घटना संसार सामु आएको थियो। सन १९५९ मा चीनको एक गाँउमा खडेरी पर्दा अनिकाल भएको थियो। करिव एक वर्ष सम्म वर्षा भएन। गर्मीले साना साना पोखरी र खोलाहरु पनि सुके।
गाँउलेको यो समस्यालाई देखेर २३ वर्षिय एक चीनिया युवाले आफ्नो गाँउमा रहेको पानीको समस्या देखेर केही गर्न गाउँले संग सल्लाह मागे। करिव १० किमी टाढा रहेको खोलाको पानी नहर बनाएर गाउँसम्म ल्याउन पाए गाउँमा पानीको समस्या नहुने भन्दै सहयोग मागे। तर गाउँलेले सहयोग दिनुको सातो उनलाई पागल भने। नभन्दै उनि पागल नै बने। उनले एक्लै नहर खन्न थाले। गाउँलेले पागल भनिरहे तर उनले खन्न छोडेनन्।
३० वर्ष सम्म एक्लै नहर खनिरहे । सन १९९० मा गाउँको नजिकै नहर आइपुगे पछि बल्ल गाउँलेले थाहा पाए । यो काम सम्भव रहेछ । सिंगो डाँडाको कडा चट्टान काटेर उनले नहर गाउँसम्म पुर्याएरै छाडे । ३६ वर्ष लाग्यो हुआंग डाफालाई एक्लैले नहर खनेर गाउँलेलाई मिठो पानी खुवाउन।
साहस र हिम्मत हुनुपर्छ एक्लैले पनि असंभव भनिने कामहरु गर्न सकिन्छ । केवल चीनमा मात्र होइन यस प्रकारको उदाहरण अन्यत्र पनि भेटिन्छ । तर म यहाँ नेपालको एक साहसी र हिम्मती ब्यक्तिको चर्चा गर्न गइरहेको छु ।
दैलेख जिल्लाका दलवीर सिंह जन्मले कामी थिए । अक्षर केही चिन्न सक्ने तर आफ्नो मेहनतमा बाँचेका । उनको आफ्नो आरन थियो । जहाँ फलामका कामहरु गर्दथे । उनमा काम प्रति लगन र मेहनत थियो । बिसं २०१९ साल तिर उनलाई भेरी नदीमा झोलुङ्गे पुल बनाउन इच्छा जाग्यो । उनि धनी भएर झोलुङ्गे पुल बनाउन लागेका थिएनन्। वर्षातमा उर्लेर आउने भेरीको भेललाई देखेका थिए । यसैले उनलाई एउटा पुलको आबश्यकता लाग्यो।
उनले आफ्नो शीप र ज्ञानको उपयोग गर्दै आबश्यक सामग्रीहरु आफैले तैयार गर्न थाले । लामो फलामे तार तथा अन्य सामग्रीको सहयोगले पुलको तैयारी गर्न थाले । गाउँलेले पुलको खाँबो गाड्न तथा पुलको भार थेग्नको लागी मोटो तारलाई ठूलो खाल्डोमा पर्याप्त ढुङ्गाहरु राखेर बाँध्नमा सहयोग गरे। हिड्नको लागी काठका साना साना फल्याकहरु लहरै बाँधे। दायाँ बायाँ मानिस पुलबाट नखसोस भनेर त्यहाँ पनि बलियोसंग तारहरु बाँधे।
२०२० सालमा सुर्खेत जिल्लाको उत्तरगंगाको भेरी नदीमा करिव ४३५ फुट लामो झोलुङ्गे पुल तैयार भयो। पुल तैयार भएपछि मानिसहरुलाई धेरै सहजता भयो। सुर्खेत जिल्लाको उत्तरगंगामा भेरी माथि बनाइएको यो पुलको बारेमा राजा महेन्द्रलाई पनि सुनाइएछ। शायद कसैले राजासम्म खबर पुर्याएको थियो होला। २०२१ सालमा राजा महेन्द्रको सुर्खेत भ्रमणमा राजाले दलवीर सिंहलाई भेटे। उनको काम देखेर राजाले उनको कामको निकै प्रशंसा गरे साथमा खुशी भएका राजाले तत्कालै रु ४०० बख्सिस पनि दिए। साथमा दलवीर सिंहलाई जागीर मिलाइ दिन पनि लगाए ।
केवल ३ कक्षासम्म पढेका दलवीरलाई राजाको आदेश पछि उनको काम र शिप अनुसारको काम दैलेख जिल्ला पञ्चायतले दिए । उनलाई सव ओभरशियरको जागीर लगाइदिए। पुल बनाउने राम्रो ज्ञान भएको हुँदा उनको जिम्मामा झोलुङ्गे पुल सम्बन्धी कामको थियो। सबै काममा केवल पढाइले मात्र हुदैन। अनुभव र ज्ञान पनि हुनुपर्छ। यो दुबै दलवीरको साथ थियो । थिएन त केवल पढाइ थिएन । कनीकुथी अक्षर पढ्न र लेख्न जानेकै थिए । तर इञ्जिनियर पढेकै थिएनन् । तर पनि सव-ओभरशियरको रुपमा जागीर पाए ।
जागीरे भए पछि उनको निरिक्षणमा दैलेख जिल्लाका लोहोरी खोलाको चुप्रा पुल र छमघाट खोलाको झोलुङ्गे पुल बनाइएको थियो। छमघाट खोलाको झोलुङ्गे पुल बनाउने सामग्री खरिदको लागि भने दलवीर कानपुर पनि पुगेका थिए ।