हजारौ वर्ष देखि सम्बन्ध रहँदै आएको नेपाल र चीनबीच २०१२ साउन १७ गते कुटनीतिक सम्बन्ध स्थापना भए पछि पहिलो पटक चीनिया उच्च पदस्थको रुपमा उपप्रधानमन्त्री उलान्हु राजा महेन्द्रको शुभराज्याभिषेकमा पाहुना भएर २०१३ को बैशाखमा आएका थिए। २०१३ को माघमा चीनिया प्रधानमन्त्री चाउ एन लाइ नेपाल भ्रमणमा आएका थिए। यस बीच चीनले तिब्बतलाई आफ्नो एक राज्यको रुपमा समाहित गर्न सफल भयो।
यता नेपालमा पनि आमचुनावपछि प्रजातान्त्रिक सरकारको गठन भयो। साथै सरकार प्रमुखको हैसियतले बिपी कोइरालाले २०१६ को चैत्रमा भ्रमण गरेका थिए। चीनिया पक्षले नेपालमा बिभिन्न सहयोगको इच्छा देखाएको थियो। २०१८ असोज १९ मा राजा महेन्द्र र चीनिया समकक्षी राष्ट्रपति ल्यु शाआचीद्वारा सीमा तथा मैत्री सन्धी भएको १० दिनपछि नेपालका परराष्ट्र मन्त्री तुलसी गिरी र चीनिया बिदेश मन्त्री चेन ई ले कोदारी राजमार्ग निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए।
नेपाल र चीन बीचको यस सम्झौताको भारतले बिरोध गर्न थाल्यो। राजा महेन्द्र नेहरुबाट त्रसित थिएनन्। त्यसैले राजा महेन्द्रले "नेपालमा साम्यवाद ट्याक्सी चढेर आउँदैन" भन्दै हस्यौली पारामा जवाफ दिएका थिए। सम्झौता अनुरुप २०१९ असार १७ मा कोदारी राजमार्गको निर्माण शुरु भयो। चार वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने थियो तर विभिन्न अवरोधले पाँच वर्ष लाग्यो। राजमार्ग निर्माणको कठिन क्षेत्रमा गोप्य रुपमा चीनिया सेनाको सहयोग लिइएको थियो। करिव ५०० चीनिया सैनिकहरुको नेतृत्व लेफ्टिनेन्ट कर्णेल लि ले गरेका थिए।
भारतको विरोधको सम्भावनालाई देखेर सैनिक परिचालनको सम्झौता राजा महेन्द्र र माओ बीच गोप्य राखिएको थियो। नेपाली सरकारी स्तरममा पनि यसको जानकारी दिइएको थिएन। चीनिया सैनिकहरुको सुरक्षार्थ तथा निगरानीमा दरवारका विश्वासिला मेजरहरुको कमाण्डमा नेपाली सेना निर्माणस्थलको १०० मीटर दुरीमा क्याम्प बनाएर बस्दथे। यसको रहस्योद्घाटन निकै वर्षपछि पूर्व चीनिया राजदुत चेङ सुयोंगबाट "You and Us: Stories of China and Nepal" मा उल्लेख गरेका थिए । यस पुस्तकमा चीन नेपाल सम्बन्धको विषयमा १६ चीनिया कुटनीतिज्ञ तथा सात नेपाली लेखकका लेखहरु समावेश गरिएको छ। सुयोंग राजमार्ग निर्माणको समय चीनिया सेनाका कमाण्डर लेफ्टिनेन्ट कर्णेल लि का दोभाषेको रुपमा कार्यरत थिए ।
यसरी २०१९ मा निर्माण थालनी भएर २०२४ सालमा तैयार भएको राजमार्ग निर्माणको क्रममा १२ चीनिया सैनिकले ज्यान गुमाएका थिए। करिव ३५ लाख पाउण्ड खर्च भएको यस राजमार्गको उद्घाटन राजा महेन्द्रले २०२४ सालको असारमा गर्दा भक्तपुरमा भव्य समारोह गरिएको थियो। चीनिया पक्षले राजमार्ग सम्पन्न भएको अवसरमा भव्य भोजको ब्यबस्था गरिएको थियो ।
यहाँ राखिएको तस्विर कोदारी राजमार्गको अन्तिम बिन्दु चीनिया सिमामा रहेको भोटेकोशी माथी बनेको पुलको हो । राजमार्ग बन्नु अगाडिसम्म काठको मुढा तेर्स्याइएको एकजना मात्र हिड्न मिल्ने थियो। पुल तैयार भए पछि मानिस हिड्न दाँया बाँयाको भाग। बिचमा गाडीको लागी छुट्ट्याइएको थियो। Concrete arch deck डिजाइनमा बनाइएको पुल बनिसकेपछि चीनिया प्राविधिकले Yǒuyì zhī qiáo नाम राखे । यसको नेपाली नामको लागी चेङ सुयोंगलाई सोधियो । उनले तत्कालै नेपाली नाम भने "मितेरी पुल" यहि नाम नै अन्तिम टुंगो लाग्यो । ठूला ठूला अक्षरले चीनियाँ भाषा र नेपाली भाषामा पुलको नाम लेखियो । यस पुल मितेरी पुलकै नामले नै प्रख्यात भयो । पुलको तस्विर नजिकबाट खिच्न नदिइने हुँदा टाढाबाट तस्विर खिचिएको थियो ।