काठमाडौं। दाङको पहाडी जिल्ला बंगलाचुली गाउँपालिकाले बिहीबारदेखि चुनढुंगा उत्खननमा रोक लगाएको छ। गाउँपालिका क्षेत्रभित्रबाट अबदेखि सिमेन्ट उद्योगलाई चुनढुंगा उत्खनन गर्न नदिने सर्वदलीय सर्वपक्षीय भेलाले निर्णय गरेको हो।
गाउँपालिकाको कार्यालय कमिरेचौरमा बुधबार बसेको सर्वपक्षीय बैठकले घोराही (सगरमाथा) सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगले गर्दै आएको चुनढुंगा उत्खनन गर्न नदिने निर्णय गरेको हो। उक्त निर्णयसँगै बिहीबारदेखि नै बंगलाचुली क्षेत्रबाट चुनढुंगा उत्खनन तथा ढुवानी कार्य रोकिएको गाउँपालिकाका अध्यक्षले जानकारी दिएका छन्।
तीन वटा सिमेन्ट उद्योगहरूले बंगलाचुली क्षेत्रबाट सिमेन्ट निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुनढुंगा उत्खनन तथा ढुवानी गर्दै आइरहेका थिए। चुनढुंगा उत्खननले सो क्षेत्रको वातावरणमा नकारात्मक प्रभाव परेको, सर्वसाधारणको सामान्य जनजीवन प्रभावित बन्दै जान थालेको हुँदा उत्खनन तथा ढुवानी रोक्ने निर्णय गर्नुपरेको जनाइएको छ।
यसैगरी बंगलाचुली गाउँपालिकाबाट सिमेन्ट उद्योगमा चुन ढुंगा ढुवानी गर्न दैनिक सयौं टिपर सञ्चालन गरिँदै आएको र त्यसले गर्दा सडक कालोपत्रे गरेको केही महिनामै जीर्ण बनिसकेको कारणले गर्दा पनि चुनढुङ्गा उत्खनन्मा रोक लगाइएको हो। सडक आसपासका सर्वसाधारण नागरिक, विद्यालयमा अध्ययनरत विद्यार्थी निकै प्रभावित बनेको हुँदा गाउँपालिका क्षेत्रबाट चुन ढुंगा उत्खनन र ढुवानी बन्द गर्ने निर्णय गरीएको हो।
जथाभावि चुनढुङ्गा उत्खननले सुन्दर शान्त पहाडी जनजीवन बिथोलिएको, वातावरण प्रदुषित बन्दै गएको साथै पानीका मुहान पनि सुक्न थालेका छन्। सिमेन्ट उद्योगले नागरिकको स्वच्छ र शान्त वातावरणमा बाँच्न पाउने अधिकारमाथि बारम्बार खेलबाड तथा बेवास्ता गरेको गाउँपालिकाका अध्यक्षले आरोप लगाएका छन्। यसैगरी खानी प्रभावित क्षेत्रका नागरिक, बंगलाचुली गाउँपालिका र जिल्ला प्रशासन कार्यालयका बीचमा विभिन्न समयमा भए गरेका सम्झौता कार्यान्वयन गर्न उद्योगले कुनै चासो नदेखाएको सर्वसाधारणले बारम्बार जानकारी दिँदै आएका छन्।