डोटी। पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भइरहेको छ। प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार छेउमा निर्माण गरिएको बसपार्क सानो भएकाले हाल चालकलाई सवारी पार्किङदेखि अन्य काम गर्न समस्या भएको हो। बसपार्क सानो तथा सवारीको चाप बढी भएकाले यात्रुलाई बीच सडकबाटै गाडीमा चढाउने र झार्ने काम हुँदै आएको शैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुखले जानकारी दिएका छन्।
अधिकांश सवारी सडकमै पार्किङ् गर्दा सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको जिल्ला ट्राफिक कार्यालय दिपायलका केशवबहादुर खड्काले जानकारी दिएका छन्। दिपायलस्थित पिपल्लाका राजमार्गमा सवारी राखिने गर्नाले त्यहाँबाट अछाम, बाजुरा तथा डडेल्धुरा जाने सवारीलाई पनि समस्या भएको छ। यसैगरी बसपार्क ठूलो र गतिलो नभएका कारण सवारी मूल सडकबाटै पार्किङ गर्नुपर्ने बाध्यता आएको सवारी चालकहरुले जानकारी दिएका छन्।
उक्त राजमार्ग भएर साना ठूला गरी दैनिक ५०० भन्दा बढी सवारी आउजाउ गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ। यसैगरी जिल्लामा पछिल्लो केही वर्षयता यात्रुवाहक सवारीका अलवा ट्रक, टिपर, लहरी, ट्र्याक्टर, टेम्पो र अन्य भारवाहन यातायातका साधनको चाप दिनहुँ बढ्दै गएकाले बसपार्कमा ठाउँ अभाव भएको बसपार्क निर्माण गर्ने जिम्मा पाएको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बताएका छन्। उनले जिल्लामा सवारीको सङ्ख्या वर्षेनी थपिँदै गएको हुनाले बसपार्क व्यवस्थित र ठूलो बनाउनका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाइसकेको र जग्गा पाएपछि चाँडै बसपार्क व्यवस्थित गर्ने योजना रहेको जानकारी दिएका छन्।
यात्रुवाहकले यात्रु झार्नेदेखि चढाउने र भारवाहन सवारीले सर–सामान लोड–अनलोड गर्ने काम सडकमै गर्ने भएकाले ट्राफिक व्यवस्थापनमा चुनौतीपूर्ण भएको जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दले जानकारी दिएका छन्। साथै सडकको केन्द्रविन्दुदेखि दायाँ र बायाँतिर १५/१५ मिटर छाड्नुपर्ने सडक विभागको मापदण्ड भए पनि यहाँ उक्त मापदण्डको कुनै पालना नगरिएको स्थानीयवासीको आरोप रहेको छ।
यतिमात्र नभएर कतिपय पसलले सडकमै सर–सामान राख्ने र घरधनीले विभिन्न निर्माण सामग्री पनि सडक छेउछाउमै राख्ने भएकाले सदरमुकाम क्षेत्रमा सवारी साधन चलाउन निकै समस्या भइरहेको दिपायल पिपल्लाका स्थानीयवासीले जानकारी दिएका छन्। सो क्षेत्रका राजपुर, पिपल्लामा सडक विभागले सडक मापदण्डअनुसार सडक छेउछाउमा निर्माण गरेका घरटहरा हटाउन निकै प्रयत्न गरे पनि सडक क्षेत्र खाली गराउन नसकिएको डिभिजन सडक कार्यालय कुलपाते दिपायलले जनाएको छ। यसैगरी बसपार्कको अभावका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएपछि बजारकोस्वरुप नै कुरुप भइरहेको जनाइएको छ।