बागलुङ। अक्करे भिरको सिरानमा रहेको शङ्खे पहरा अहिले पर्यटकको पर्खामा रहेको छ। उक्त पहराको नाम पितापुर्खाले राखेका थिए। जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म गुमनाम अवस्थामा थियो।
रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन थालेपछि गुमनाम रहेको उक्त पहरा पनि दृश्यमा आएको हो। प्राचिन समयमा शङ्खे पहरालाई शङ्खे ओढार भन्ने गरेको रिठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर थापाले जानकारी दिएका छन्। रिठेडाँडामा गत वर्ष पर्यटकीय उद्यानको काम थालिएसँगै शङ्खे पहराको चर्चा भएको हो। समिति र गाउँले मिलेर उक्त ओढारलाई शङ्ख बज्ने पहराका रूपमा अन्यत्र चिनाएका हुन्। पहरामा रहेका प्वालमा फुक्दा शङ्खको झैँ ध्वनि निस्कने गरेको अध्यक्ष थापाले बताएका छन्।
शङ्खे पहरा जोड्ने बाटो खन्ने क्रममा स्थानीयवासी रमेश पुनले पहिलोपटक पहरामा फुकेर शङ्खको ध्वनि निकालेको अध्यक्ष थापाले जनाएका छन्। त्यसपश्चात गाउँका अरु केही युवाले पनि शङ्ख बजाउन सिकेको र जो–कोहीले ते पहराको शङ्ख फुक्न नसक्ने उनको भनाइ छ। उक्त पहराको शङ्ख फुक्न धेरै गाह्रो हुने साथै वर्षायाममा पहरा पानीले भिज्ने भएकाले ठूलो आवाज आउँने र राम्रो पनि सुनिने तर सुक्खायाममा भने प्वालमा पानी हाल्दै बजाउने गरिएको उनले जानकारी दिएका छन्।
शङ्खे पहराको नाम चल्न थालेपछि हाल त्यहाँ फाट्टफुट्ट आन्तरिक पर्यटक पुग्न थालेका छन्। शङ्ख बज्ने पहरा भनेपछि जिज्ञासा लिएर मानिसहरू त्यहाँ आउन थालेको अध्यक्ष थापाले बताएका छन्। उनले पहरामा रहेका प्वालमा फुक्दा शङ्ख ध्वनि निस्कनु आफैँमा अनौठो भएको प्रतिक्रिया दिएका छन्। शङ्खे पहराको मुनिपट्टि देवीदेउताका आकृति पनि रहेको छ। स्थानीयवासीले त्यसलाई धार्मिक आस्थासँग जोडेर हेर्न थालेका छन्। त्यहाँ पुग्दा पूजाअर्चना गर्ने, दक्षिणा चढाउने चलन सुरु भएको छ। रिठेडाँडाबाट शङ्खे पहरा पुग्न व्यवस्थित पदमार्ग बनाउने योजना रहेको छ।
उक्त क्षेत्र भिरालो भएकाले सुरक्षित पदमार्गको आवश्यकता रहेको साथै अहिले भएको बाटो साँघुरो भएकाले पदमार्ग निर्माणको योजना अगाडी बढाइएको छ। रिठेडाँडाको पर्यटन विकासका लागि चालु आवमा पर्यटन मन्त्रालयबाट रु ९ लाख र नगरपालिकाबाट १ लाख बजेट बिनियोजन भएको छ। सो बजेटबाट मचान, शङ्खे पहरा जाने पदमार्ग, घेराबार, पोखरी ढलान, उद्यान निर्माणलगायत काम गरिने समितिले जनाएको छ। गत वर्ष पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले रु ४ लाख ३६ हजारको योजना सञ्चालन गरेको थियो। सो बजेटबाट चौतारो निर्माण, उद्यान विस्तारलगायतका काम भएका थिए। वडाध्यक्ष गोपालप्रसाद शर्माले रिठेडाँडालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताएका छन्।
सोही ठाउँमा व्यवस्थित खेलमैदान निर्माणका लागि यही वर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु ९ लाख बजेट छुट्टिएको वडाध्यक्ष शर्माले जानकारी दिएका छन्। सङ्घ, प्रदेश र स्थानीय सरकारका तर्फबाट गरी चालु आर्थिक वर्षमा झण्डै रु २९ लाख बजेट त्यहाँको पूर्वाधार विकासमा खर्च हुन लागेको उनको भनाइ छ। दशकौँदेखि ओझेलमा परेको रिठडाँडाको भौतिक र पर्यटन विकासमा राज्यका निकाय, जनप्रतिनिधिदेखि स्थानीयवासी जुटेका हुन्। पर्यटनका माध्यमबाट गाउँलाई चिनाउने र आर्थिक उपार्जन गर्ने उनीहरुको लक्ष्य रहेको छ। सोही उद्देश्यलाई बढावा दिन घरबास (होमस्टे) पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। रिठेडाँडा १ हजार ३०० मिटरको उचाइमा रहेको छ।