काठमाडौं। आजभन्दा ३२२ वर्ष अगाडि बि.सं. १७५९ असार ३० गते अर्थात असार शुक्ल प्रतिपदाका दिन भक्तपुरको प्रसिद्ध पाँचतले ङातापोल मन्दिरको निर्माण सम्पन्न भएको थियो। भक्तपुरका राजा भुपतिन्द्र मल्लले बनाउन लगाएको यो मन्दिर तैयार हुन ६ महिना लागेको भन्ने गरिन्छ। यति बिशाल मन्दिर बनाउन केवल ६ महिना लागेको तथ्यका अनुसार यो मन्दिर निर्माणमा थुप्रै मजदूरको श्रम लागेको सहजै अनुमान गर्न सक्दछौ।
मातृसत्तात्मक त्यो समयको युगमा भैरवले आफ्नो अहंकार देखाउँदै राज्यमा विभिन्न किसिमको व्यवधान गरेको हुँदा भैरवको घमण्डलाई तल पार्न भैरवको मन्दिर भन्दा अग्लो ङातापोल मन्दिरको निर्माण गरेर त्यस मन्दिर भित्र सिद्धिलक्ष्मी देवीको मुर्ति स्थापना गरिएको भन्ने गरिन्छ ।
भैरवको मन्दिर नजिकै विशाल मन्दिर बनाउनु पर्ने तर बस्ती बसिसकेको हुँदा समस्या बनेको थियो । अन्तमा भैरव मन्दिरको उत्तर पश्चिममा रहेको बस्तीलाई अन्यत्र सार्ने निर्णय भयो। त्यस क्षेत्रमा बसोबास गर्ने पक्वांहरुलाई गोलमढी देखि पूर्वमा रहेको खालि चौरमा स्थानान्तरण गरियो। यसरी सत्ताभर्नामा दिइएको हुँदा यो चौरको नाम नै पलिख्य हुन पुग्यो। र साथै पलिख्यमा बस्नेहरुलाई पनि पलिख्य नै भन्न थालियो। पलिख्यहरु भने अचेल पलिखे, पालिखे, पलिखेल आदि थरका रुपमा चिनिने गरिन्छ ।
१०८ फिट रहेको यस मन्दिर नेपालकै अग्लो मन्दिरमा पर्दछ। यश मन्दिरमा ५२८ वटा साना साना घण्टा, १०८ वटा कलात्मक टुँडाल र १०० केजीको विशाल गजुर रहेको छ। मन्दिर भित्र १८ वटा हात र ९ वटा मुख भएको कलात्मक सिद्धिलक्ष्मीको मुर्ति राखिएको छ।
बिशाल सिद्धिलक्ष्मीको दायाँ महांकाल भैरवको मूर्ति, बायाँ स्मशान भैरव तथा तल बेतालको प्रतिमाहरु बनाइएका छन्।
साथै यस मन्दिरमा सिद्धिलक्ष्मीको सुरक्षाका लागि सबैभन्दा तल सिँढीको दायाँबायाँ दुई कोटवालले सुरक्षा दिएका छन्। कोटवाल भन्दा माथि दश गुन बलियो दुई हात्ती, हात्ती भन्दा माथि हात्ती भन्दा दश गुना बलियो दुई सिंह, सिंह भन्दा माथि सिंह भन्दा दश गुना बलियो दुई शार्दुल र त्यस भन्दा माथि सिंह भन्दा दश गुना बलियो सिंहीनी ब्याघ्रीनी राखिएको छ। दक्षिण तर्फ फर्किएको सिंढीमा ३६ खुट्किला बनाइएको छ।
यस मन्दिरको पहिलो र दोश्रो तल्लाको टुँडालहरुमा ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, इन्द्रायणी, महाकाली र महालक्ष्मी गरि अष्टमातृका देवीहरुको आकृति कुँदिएको छ। तेश्रो तल्लाको टुँडालहरुमा लोकेश्वरको मूर्तिहरु र चौथो तल्लाका टुँडालहरुमा महालक्ष्मीका विभिन्न मूर्तिहरु कुँदिएका छन् । र अन्तमा पाँचौ तल्लाको टुँडालहरुमा शिवश्क्तिका मूर्तिहरु कुँदिएका छन्।
मन्दिर निर्माण सम्पन्न भएपछि मन्दिर निर्माण गर्न सहयोग पुर्याउने १५५०१ जना जनसमुदाय र २८४४ जना छिमेकी राज्यका बिशिष्ट पाहुनाहरुलाई भब्य भोज खुवाइएको थियो। साथै छिमेकी राज्यका राजाहरुलाई पनि राजकीय सम्मानका साथ भोजन गराइएको थियो। सुनिल उलकको फेसबुक पेजबाट