सुर्खेत। वीरेन्द्रनगरमा चक्रपथ निर्माणको चर्चा चलेको वर्षौं भयो। तर, वीरेन्द्रनगरको समृद्धिको आधार मानिएको यही चक्रपथको निर्माण कार्य अझै अलपत्र नै छ।
निर्माण थालिएको १६ वर्ष भइसक्दा पनि ३१ किलोमिटर लामो चक्रपथको काम जम्मा २१ किलोमिटर मात्रै ट्र्याक खुलेको छ। स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाको ७० प्रतिशत काम बाँकी नै छ। ‘स्थानीयको अवरोधकै कारण चक्रपथ निर्माणमा ढिलाइ भएको वीरेन्द्रनगर २ का वडाध्यक्ष बलबहादुर रोकायले बताए।
अतिक्रमणमा पर्ने जग्गाको उचित मूल्यांकन नगर्दा सुरुवातीदेखि नै स्थानीयले अवरोध गर्दै आएका हुन। सडक निर्माण गर्दा स्थानीयले अतिक्रमण हुने घर र जग्गा क्षतिपूर्तिको माग गर्दै आएका छन्। जग्गा र घरको उचित क्षतिपूर्ति नपाएसम्म स्थानीयले सडक निर्माण हुन नदिने अडान राख्दै आएका छन्। यही कारण वीरेन्द्रनगर ११ को सुब्बाकुना, ९ र २ को सिमानामा पर्ने गुप्तीपुरलगायतका क्षेत्रमा विवाद भएको छ।
स्थानीयको विवादकै कारण १, ४, ५ र ७ वडा क्षेत्रमा ट्र्याकसमेत खोल्न सकिएको छैन। आयोजना सुरु नहुँदै स्थानीयले अवरोध गरेपछि ३० मिटर चौडाइको सडकलाई १५ मिटरमा झारिएको छ।
सडक डिभिजन कार्यालयले स्थानीय बासिन्दाले साथ नदिएका कारण चक्रपथ निर्माणमा ढिलाइ भइरहेको बताएको छ। ‘३१ किलोमिटर सडक निर्माण गर्न वर्षदिन पनि लाग्दैन’ सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुरेशकुमार बस्यालले भने, ‘स्थानीयले साथ नदिएकै कारण चक्रपथ निर्माणमा ढिलाइ भइरहेको छ।’
चक्रपथ निर्माण थालिएको वर्षौं बितिसक्दा पनि हालसम्म जम्मा एक किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको छ। वडा नम्बर ११ को सुब्बाकुनादेखि अमृतडाँडासम्मको एक किलोमिटर खण्ड मात्र कालोपत्रे गरिएको हो। पछिल्लो चार वर्षदेखि खड्का कृष्ण द क्याराभान जेइन्ड भेन्टर (जेभी) बाँकेले चक्रपथ निर्माणको काम गरिरहेको छ।