काठमाडौं। ऊर्जा क्षेत्रका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पूर्वऊर्जामन्त्रीहरूसँग छलफल गरेका छन्। मंगलबार उर्जामन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्वमन्त्रीहरुसँग देशको ऊर्जा क्षेत्रको विद्यमान समस्या र तिनको समाधान खोज्न छलफल गरेका हुन्।
छलफलमा ऊर्जामन्त्री खड्काले सरकारले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न पूर्वमन्त्रीको राय र सुझाव माग गरेका थिए।
पूर्वमन्त्रीहरूले जलाशययुक्त आयोजना विकास, प्रसारण लाइन निर्माणमा तीव्रता, विद्युत् व्यापारको व्यवस्थापनलगायतका विषयमा सुझाव दिएका छन्।
छलफलमा पूर्वमन्त्री डा.प्रकाशशरण महतले जलविद्युत् गृहमा समयमै प्रसारण लाइन नजोडिँदा उत्पादित बिजुली खेर जाने गरेको भन्दै यसलाई सम्बोधन गर्न मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताए।
त्यसैगरी पूर्वमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नीतिलाई ग्यारेन्टी गरेर अगाडि बढ्नुपर्ने बताए।
पूर्वमन्त्री महेन्द्रबहादुर शाहीले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा आकर्षण गर्नुपर्ने सुझाव दिए। पूर्वमन्त्री जनार्दन शर्माले प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने सुझाव दिए। पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जलस्रोत देशको समृद्धिको क्षेत्र भएकाले यसलाई अधिकतम प्रयोग गरेर देशले फाइदा लिनुपर्ने सुझाव दिए।
पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकमा ऊर्जा सन्तुलनका लागि जलाशययुक्त आयोजनालाई अगाडि बढाउनुपर्ने बताए।
पूर्वमन्त्री महतले डेडिकेटेड र ट्रङ्कलाइन क्षेत्रमा देखिएको विवादलाई कानुनबमोजिम टुङ्ग्याउन सुझाव दिए। पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागबिच समन्वय आवश्यक रहेको बताए।