रुपन्देही। जिल्लाको बेलबास–बेथरी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। रुपन्देहीको उत्तरी सिमाना बुटवलको बेलबासबाट दक्षिणी क्षेत्रस्थित लुम्बिनी रोडको बेथरी जोड्ने नमुना सडक निर्माणको अन्तिम चरणमा पुगेको हो।
तीन प्याकेजमा गरिएको निर्माण कार्यमा एउटाको काम ९५ प्रतिशत, एउटाको ९० प्रतिशत र अर्कोको ४५ प्रतिशत पूरा भएको छ। दुवै साइडमा चार लेनको सडक र बीचमा नहर रहेको नमुना सडक २२ किलोमिटर लामो छ।
नहरको दुवैतिर हरियाली बनाउन ग्रिनेरी बेल्ट छ त्यसको बाहिर सात सात मिटर फराकिला सडक, त्यसबाहिर दुई मिटरको साइकल लेन र १.८ मिटरको फूटपाथ बन्नेछ। नहरको दुवै साइडको भित्तामा फूल र दुबो रोपेर हरियाली बनाइने छ ।
३ प्याकेजमा गरी कुल १ अर्व ६७ करोडको लागतमा निर्माण थालिएको २२ किलोमिटरको सडक अहिले ३ वटै प्याकेजको काम जारी छ। २०७३ असार ३० गते बज्रगुरु कान्छाराम जेभी र रमण जेजेसिसिएल जेभीसंग ठेक्का सम्झौता भएपछि सुरु भएको यो आयोजना अबको एक बर्षभित्र सक्ने लक्ष्य लिइएको छ।
०७४ असार १० गते रमण कन्स्ट्रक्सनसंग सम्झौता भएपछि २२ किलोमिटरको सडकलाई ३ प्याकेजमा बाढिएको थियो। ३ वटा प्याकेजमध्ये रमण जेजेसिसिएल जेभीले सबैभन्दा बढि ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ।
६८ करोड ३६ लाख १२ हजार २९४ रुपैयामा सम्झौता भएको कम्पनीले ९५ प्रतिशत काम सम्पन्न गर्दा ५६ करोड ४३ लाख ४ हजार ५८१ रुपैयाँ भुक्तानी लगिसकेको छ। त्यस्तै रमण कन्स्ट्रक्सनले ९० प्रतिशत काम सम्पन्न गरेको सडक पूर्वाधार कार्यालय कपिलबस्तुले जनाएको छ ।
३७ करोड ८२ लाख ७० हजार ३४४ सम्झौता भएको उक्त ठेकेदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्दा २५ करोड ५७ लाख ९ हजार ६१८ रुपैयाँ भुक्तानी भएको छ।
सुरुमै सम्झौता गरेको बज्रगुरु कान्छाराम जेभीले भने ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। ६० करोड ८८ लाख ६१ हजार ४ सय ८४ रुपैयाँमा ठेक्का पाएको यो कम्पनीले हालसम्म २२ करोड २१ लाख ५४ हजार ७१३ रुपैयाँ भुक्तानी लगेको सडक पूर्वाधार कार्यालय कपिलवस्तुले जनाएको छ।