म्याग्दी। कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ ओटा मोटर चल्ने पुल निर्माण भएको छ।
१८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन अवस्थामा छन्। आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको जानकारी दिए।
नियमित र सहजरुपमा यातायात सञ्चालनका लागि सडकको स्तरोन्नतिसँगै बेलिब्रिज विस्थापित गरी पुल निर्माणको काम भइरहेको छ। एउटा पुल निर्माणको ठेक्का प्रक्रियामा छ। थप पाँच ओटा पुल बनाउन बनाउन आवश्यक छ।
छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर लामो र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल निर्माण गरेको थियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ।
४० मिटर लम्बाइको रुप्से खोलाको पुलको दुबैतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान ८५ प्रतिशत काम भएकामा बाढीले पुलको जग नै खलबलाउने गरी बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको उनले जानकारी दिए।
रू. सात अर्ब २७ करोडमा ठेक्का सम्झौता भएका बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत सडक तथा पुल निर्माणमा अहिलेसम्म रू. चार अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले जानकारी दिए। पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म १३ ओटा खण्डमा सडक स्तरउन्नति भइरहेको छ। २५ किलोमिटर दूरीको चराङ–छोसेरबाहेक जोमसोम–कोरला खण्डको ६ ओटा प्याकेजमा ११ मिटर फराकिलो सडक ग्राभेल भइसकेको छ।
बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ। बेनी जोमसोम सडकको बेनीदेखि घाँसा खण्डमा डिबिएसडी र घाँसा जोमसोम खण्डमा आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको छ।