काठमाडौं। क्षत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान गरिएको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले शनिबार क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १७ मा जडान गरिएको उक्त अक्सिजन प्लान्टको उद्धघाटन गरेकी छिन्।
दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको संस्था युनाईटेड नेवा, आईओएनलगायतका दर्जनभन्दाबढि संस्था तथा व्यक्तिको सहयोगमा मध्य काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान गरिएको छ। सो अक्सिजन प्लान्टबाट दैनिक १ सय सिलिण्डर क्षमताको अक्सिजन उत्पादन गर्न सकिन्छ।
उक्त अक्सिजन प्लान्ट १ करोड ४५ लाख लागतमा जडान गरिएको हो। निर्मित अक्सिजन प्लान्टको उद्धघाटन गर्दै मन्त्री भुसालले बढ्दो कोरोना महामारीका विरुद्धमा लड्न थप मद्दत मिल्ने विश्वास व्यक्त गरेकी छिन्। यसैगरी मन्त्री भुसालले नयाँ नयाँ भाइरसको प्रभाव विश्वका अन्यत्र देशमा बढिरहेको सन्दर्भमा नेपालमा पूर्व तयारी आवश्यक रहेको बताउँदै उक्त अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी हुन्।
अक्सिजन प्लान्टको उद्धघाटन गर्दै मन्त्री भुसालले क्षत्रपाटी निःशुल्क चिकित्सालयले शहरी क्षेत्रको बीचमा रहेर पनि न्यून आय भएका, गरिब, असहाय जनताको सेवामा समर्पणको उच्च सम्मान गर्दै सरकारले अस्पताललाई थप सहयोग गर्दै अघि बढ्ने जानकारीसमेत दिएकी छिन्। साथै निःशुल्क चिकित्सालयलाई सरकारले निःशुल्क विद्युत उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएकी छिन्।
सो कार्यक्रममा काठमाडौं महानगरपालिका वडां १७ का अध्यक्ष नविन मानन्धरले अस्पतालले २०७२ सालको भुकम्प र हालको कोडिभ महामारीमा उल्लेख्य भूमिका खेलेको बताउँदै सरकारले पूर्वाधार विकासमा ध्यान दिन नसकेको जनाएका छन्। यसैगरी सोही कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयका उपाध्यक्ष कुमारदेव मानन्धरले दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन हुने, स्वचालित पाइपमार्फत सिधैं अस्पतालको बेडहरुमा पुग्ने अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको जानकारी दिँदै छिट्टै उक्त प्लान्टबाट अक्सिजन सिलिण्डरमा भर्ने व्यवस्था हुने जानकारी दिएका छन्।
उक्त अक्सिजन प्लान्टले अस्पताल अक्सिजनमा आत्म निर्भर भएको बताउँदै आगामी दिनमा निःसहाय, गरिब र न्यून आय भएका जनताको सेवामा अझै दृढ भएर समर्पित हुने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाएका छन्। क्षत्रपाटी निःशुल्क चिकित्सालयमा पुस १ गतेबाट शनिबारका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सुरु गरिएको छ। यसैगरी सो अस्पतालमा हालसम्म सामान्य शल्यक्रिया हुँदै आएकोमा अब विशेष प्रकारको शल्यक्रिया सेवा समेत थप गर्दै अघि बढ्ने तयारी गरिरहेको जनाएको छ।